स्वचालित प्रणालीमा बढुवा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउनुस् : गृहमन्त्री — OSNepal

स्वचालित प्रणालीमा बढुवा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउनुस् : गृहमन्त्री

LC (KTM) April 05, 2024 0

काठमाडौँ-उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणालीमा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बिहीबार सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली–२०८० तथा प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा उहाँले सो निर्देशन दिनुभएको हो ।

दुवै प्रहरी सङ्गठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने गृहमन्त्री लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कसैलाई अन्याय गर्न हस्ताक्षर कसरी गर्दा रहेछौँ भन्ने बढुवैपिच्छेका प्रतिक्रियाले प्रष्ट भएको छ । जतिसक्दो छिटो अटोमेसनमा जान सक्छौँ, त्यति छिटो आफूलाई अन्याय भयो भन्ने सङ्गठनका सदस्यको गुनासो अन्त्य हुन्छ र प्रहरीप्रतिको विश्वसनीयता पनि बढ्छ ।”

गृहमन्त्री लामिछानेले अरुले बहालमा रहँदा के गर्नुभयो त्यता नफर्किन आग्रह गर्नुभयो । उहाँले आफू कार्यरत रहँदा विधि र प्रणालीमा जोड दिने भएकाले अनुहार हेरेर बढुवा गर्ने विद्यमान अभ्यासको अन्त्य अनिवार्य भएको उल्लेख गर्नुभयो । केही समय अघि प्रहरी उपरीक्षक र बुधबार भएको प्रहरी नायब उपरीक्षकको बढुवा सिफारिसका क्रममा प्राप्त प्रतिक्रियाका आधारमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

दुवै सङ्गठनको संयुक्त संयन्त्र बनाएर विस्तृत अध्ययन गरी प्रस्ताव ल्याउन गृहमन्त्री लामिछानेले निर्देशन दिनुभयो । छलफलमा सचिवसहित गृह मन्त्रालयका उच्च अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकसहित उच्च अधिकृत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर