चलचित्र भवनमा ‘महाजात्रा’ र ‘बद्री बहादुर’ — OSNepal

चलचित्र भवनमा ‘महाजात्रा’ र ‘बद्री बहादुर’

LC (KTM) April 05, 2024 0

काठमाडौँ, २३ चैत : चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । ‘बद्री बाहदुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको हो भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ । शोभित बस्नेतले निर्माण तथा निर्देशन गर्नुभएको ‘बद्री बहादुर’ हास्य विधामा आधारित चलचित्र हो । निर्देशक बस्नेतले ‘धेरै हाँस्न नसक्नेले यो चलचित्र नहेर्नु होला’ भन्दै प्रचारसमेत गर्नुभएको छ ।

“बद्रीबहादुर अहिलेको समाजमा देखिने पात्र हो, जसको भोगाइले मनोरञ्जनसँगै विविध पक्षलाई उजागर गरेको छ, यसले दर्शकलाई केही न केही सन्देश अवश्य दिन्छ”, निर्देशक बस्नेतले भन्नुभयो ।

चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी कार्यकारी निर्माता रहनुभएको चलचित्रमा जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजिवजङ्ग बस्नेत, धीरेन शाक्य, वर्षा चौलागाईंलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ आजदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । आपत्तकालीन रुपमा आइलाग्ने धन व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने चुनौतीलाई रोचक शैलीमा प्रस्तुत गरिएको चलचित्रलाई लेखन तथा निर्देशन प्रदीप भट्टराईले गर्नुभएको हो ।

“जात्रा शृङ्खलाको मनोरञ्जनसँगै यसपटक राष्ट्रिय विषयलाई जोडेका छौँ, तीन पात्रहरूको जात्रामा कलाकार थपेर यसपटक महाजात्रा गरेका हौँ, चलचित्र हेर्दा मनोरञ्जनसँगै संदेश पनि ग्रहण गर्नु हुनेछ”, निर्देशक भट्टराईले भन्नुभयो ।

चलचित्रमा अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नुभएको ‘महाजात्रा’ नेपालसँगै विश्वभर व्यावसायिक रुपमा समेत सफल भएको छ ।

निर्माता खत्रीले चलचित्रले नेपालमा दुई सातामा रु १० करोड १५ लाखको कूल व्यापार (ग्रस कलेक्सन) गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल मात्र नभई विश्वभर चलचित्र गरिरहेको व्यापारले बजार विस्तार गर्न र बलियो बनाउन टेवा पुग्नेछ, सपरिवारलाई दर्शक बनाएर चलचित्र भवनसम्म ल्याएर खुसी बनाएर पठाउन पाउँदा हाम्रो समूह नै कृतज्ञ छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर