प्रदेश र स्थानीय तहको समन्वयले सङ्घीयता सवल हुन्छ : मुख्यमन्त्री यादव — OSNepal

प्रदेश र स्थानीय तहको समन्वयले सङ्घीयता सवल हुन्छ : मुख्यमन्त्री यादव

LC (KTM) April 05, 2024 0

महेन्द्रनगर (धनुषा), २३ चैत : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र सङ्घीयता सवल हुने बताउनुभएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश र नेपाल कानुन समाजको संयुक्त आयोजनमा आज जनकपुरधाममा सम्पन्न प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले सो कुरा बताउनुभएको हो ।

नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि प्रदेश र स्थानीय तहबीचको समन्वयलाई व्याख्या नगरी सङ्घीयतालाई नै कमजोर गर्ने काम गरेकाले सङ्घीयतालाई बलियो पार्न स्थानीय तह र प्रदेश सरकारबीच समन्वय गर्नुको विकल्प नरहेको बताउनुभयो ।

सङ्घीयता मधेसलाई नै चाहिएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री यादवले स्थानीय तह र प्रदेश सरकार एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । स्थानीय तहको परिषद् बैठकमा समेत प्रदेशसभा सदस्यहरूलाई प्रतिनिधित्व गराउन आग्रह गर्नुहँुदै मुख्यमन्त्री यादवले प्रदेशको प्रतिनिधित्व गराइए स्थानीय तहलाई फाइदै हुने बताउनुभयो ।

सङ्घीयताले मधेसको गाउँगाउँसम्म विकासको अनुभूति गराएको दाबी गर्दै मुख्यमन्त्री यादवले विगतका राजतन्त्रदेखि प्रजातन्त्रसम्म मधेसले भोगेको हविगत सबैसामु छर्लङ्ग रहेको बताउनुभएको छ ।

कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मधेस सरकारबाट निर्माण भएको कानुन कार्यान्वयनको अवस्था र चुनौती तथा नेपाल कानुन समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यले प्रदेश र स्थानीय तहको समन्वयको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृहमन्त्री राजकुमार लेखीसहितका वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो ।कार्यक्रममा मधेस सरकारका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, मधेस प्रदेशसभाका सभासद, गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर