स्वास्थ्यमन्त्रीद्वारा स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड — OSNepal

स्वास्थ्यमन्त्रीद्वारा स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड

LC (KTM) April 13, 2024 0

काठमाडौँ,- उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको १०औँ स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका वैज्ञानिकको शिखर सम्मेलनको शुक्रबार समापन गर्दै स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यका क्षेत्रमा कम अनुसन्धान भएकाले त्यसमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको धेरै जोड उपचार र शिक्षामा दिएको उल्लेख गर्दै आजको विज्ञान र प्रविधिको युगमा हाम्रोजस्तो आर्थिक रुपपले पछाडि परेको मुलुकका लागि अनुसन्धानको महत्व रहेको बताउनुभयो ।

परिषद्लाई अझ जनशक्ति र स्रोतको आवश्यकतालाई ध्यान दिने भन्दै स्वास्थ्यमन्त्री यादवले परिषद्लाई प्रादेशिक तहमा विस्तार गरिने बताउनुभयो । उहाँले सम्मेलनबाट निस्केका निष्कर्षलाई सरकारले पृष्ठपोषकका रुपमा लिएर स्वास्थ्यसम्बन्धी नीतिनिर्माण प्रक्रियामा स्थान दिने र अनुसन्धानलाई टेकेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्न बजेट बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले परिषद् आफैले अनुसन्धान गर्ने नभई नियमनकारीका रुपमा हुनुपर्ने भन्दै शिक्षण अस्पताललाई संस्थागत रुपमा अनुसन्धानमा ल्याउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सेवाको पहुँचमा ठीक भए पनि गुणस्तरमा चुकेको उल्लेख गर्दै सचिव पोखरेलले आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवाका बारेमा काम गर्नु आवश्यक रहेको बताउनुभयो ।

परिषद्का अध्यक्ष डा गेहनाथ बरालले स्वास्थ्य क्षेत्रको खाली रहेको ठाउँमा अध्ययन अनुसन्धान हुनुपर्ने बताउनुभयो । परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले सम्मेलनले स्वास्थ्य क्षेत्रको नीति निर्माणमा सहयोग मिल्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न अध्ययन अनुसन्धानकर्ताका ७६ मौखिक र दुई सय ७३ पोस्टर प्रस्तुतीकरण गरिएको थियो ।

सम्मेलनमा विभिन्न १० विधामा अवार्ड समेत प्रदान गरिनेछ । सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरणतर्फ किरण आचार्य र पोस्टर प्रस्तुतीकरणमा प्रतीक्षा पौडेलले उत्कृष्ट अवार्ड पाउनुभयो । सम्मेलनमा एक हजारभन्दा बढी अनुसन्धानकर्ता, चिकित्सक, जनस्वास्थ्यविद्लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर