आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठपर्व मनाइँदै — OSNepal

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठपर्व मनाइँदै

LC (KTM) April 14, 2024 0

वीरगञ्ज (पर्सा), २ वैशाख : तराई मधेस क्षेत्रमा श्रद्धा भक्तिपूर्वक मनाइने चैती छठपर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ ।

चार दिनसम्म मनाइने चैती छठपर्वअन्तर्गत आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र भोलि अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको चैती छठपर्व सम्पन्न हुन्छ ।

यो पर्वका लागि अहिले वीरगञ्जस्थित घडिअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा, छपकैयालगायत स्थानका पोखरी तथा तलाउलाई दुलहीझैँ श्रृङ्गारिएका छन् । चैती छठपर्वमा सूर्य भगवान् र छठीमातालाई चढाउन गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसुवालगायत परिकार बनाउने गरिन्छ ।

प्रसादका रुपमा मुला, गाँजर, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउलगायत फलफूल चढाउने परम्परा रहेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक छठपर्व मनाउने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । शरद् ऋतुमाजस्तो वसन्त ऋतुमा मनाउने छठको उल्लास भने नहुने पण्डित शास्त्रीले बताउनुभयो ।

छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने सामग्री किन्न बजारमा चहलपहल बढेको छ । छठपर्वको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने र छालाजन्य रोग कहिले नलाग्ने जनविश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर