जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ — OSNepal

जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

LC (KTM) April 14, 2024 0

झापा, २ वैशाख : जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गत चैत २८ गते जातीय आधारमा विभेद र अपमान गरेको भन्दै जाहेरी दिनुभएको थियो ।

सोही जाहेरीको आधारमा उहाँलाई शनिबार साँझ बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो । गिरीले पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ आकर्षण हुनेगरी अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

गत चैत १८ गते हल्दिबारीमा भएको नेकपा एमाले हल्दिबारी गाउँपालिकाको बैठक सकेर फर्किनुभएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौँच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएको पोर्तेलको आरोप छ । पक्राउ गरिएका गिरीलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले बताउनुभयो ।

पोर्तेल नेपाल उत्पीडित जातीयमुक्ति समाजका केन्द्रीय सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । केही दिन नेपाल दलित सङ्घ, मुक्ति समाज झापा, नेपाल दलित मुक्ति मोर्चा, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान सङ्गठन, दलित जागरण अभियान र ओरिफ नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै गिरीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर