कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेललाई विश्वासको मत — OSNepal

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेललाई विश्वासको मत

LC (KTM) April 25, 2024 0

कर्णाली, १३ वैशाख (रासस) : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको १०औँ बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

कुल ४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा ३५ सदस्य उपस्थित हुनुहुन्थ्यो । उपस्थित २३ प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गर्नुभएको थियो । यस्तै १२ प्रदेशसभा सदस्यले उहाँको विपक्षमा मतदान गर्नुभएको थियो । एक सदस्य तटस्थ रहनुभयो ।

मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्न सभासमक्ष राख्नुभएको प्रस्तावको पक्षमा जम्मा २३ मत परेको र उक्त सङ्ख्या प्रदेशभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकाले सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

हाल कर्णाली प्रदेशसभामा नेपाली काँग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १० तथा नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र एक एक गरी ४० सदस्य रहेका छन् । प्रदेशसभाको अर्को बैठक यही वैशाख १७ गते दिउसो ३ः०० बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर