माडीको पर्यटन विकासमा होटल संघको चासो



madiओएस नेपाल, माडी, १४ मंसिर । दक्षिण चितवनको माडी उपत्यकामा पर्यटन विकासका लागि सहयोग गर्ने सौराहाका पर्यटन व्यवसायीहरुले प्रतिबद्धता जनाएका छन् ।
शनिबार माडीमा भएको एक छलफल कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष नारायण भट्टराईले माडीको पर्यटन विकासमा आफूहरुको पूर्ण सहयोग रहेको भन्दै सौराहामा आएका पर्यटकहरुलाई माडीमा भित्र्याउन सके फलदायी हुने उल्लेख गरे । उनले यसका लागि माडीवासीहरुले पहल गरेर निकुञ्जको प्रवेश टिकटको समय लम्याउन सके प्रभावकारी हुने बताए ।
कार्यक्रममा मृगकुञ्ज उपभोक्ता समिति बछौलीका अध्यक्ष बासु ढुंगानाले प्रकृतिको संरक्षण र पर्यटन प्रबद्र्धनका कार्यक्रम सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन् । छलफल कार्यक्रममा बघौडा मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष शोभाकर चापागाईंले माडीक्षेत्रमा पर्यटकीय सम्भावनाहरु प्रशस्त भएकाले पर्यटन प्रबद्र्धनका लागि सौराहाले सहयोग गर्नुपर्ने बताए ।
पूर्व अध्यक्ष चापागाईले माडी सौराहा जोड्ने सडकमार्ग निर्माणका लागि पहल भैरहेको समेत जानकारी दिए । पैदलमार्ग प्रभावकारी बनाउन अझै धेरै काम बाँकी भएकाले यसतर्फ सबैको ध्यान जानुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् ।
कार्यक्रममा क्षेत्रीय होटल संघ चिवतनका उपाध्यक्ष भेषराज दुवाडी, सचिव दामोदर रेग्मी, रत्ननगर उद्योग वाणिज्य संघका अनिलकृष्ण श्रेष्ठ, पर्यटन व्यवसायीहरु गोविन्द अधिकारी, बलराम दाहाललगायतले बोलेका थिए ।
कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका देवेन्द्र श्रेष्ठ, माडीका स्थानीय कमल भुसाल र शिवनारायण गुरौ तथा सौराहाका पर्यटन व्यवसायीहरु दिपेन्द्रप्रसाद खतिवडा, अञ्जनकुमार पाण्डे, देवहरि नेपालको समेत सहभागिता रहेको थियो ।

Comment