शिवानीकाे प्रश्न : म किन साहित्यकार भनेर चिनिन नहुने ?



डेढ दसकअघि नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘मेरो गीत मरो सन्देश’की प्रस्तोता, विभिन्न म्युजिक भिडियोमा मोडलिङ गरेकी अनि बिबिसीबाट प्रसारण हुने रेडियो नाटक ‘कथा मीठो सारङ्गीको’ लेखन तथा निर्देशन गरेकी शिवानी सिंह थारु उपन्यासकारको रुपमा साहित्य क्षेत्रमा प्रवेश गरेकी छन् । नौ वर्ष अगाडिबाट बजारमा हल्ला चलेको उनको उपन्यास ‘काठमाडौंमा एक दिन’को आवरण बल्ल सार्वजनिक भयो । उपन्यास आउनुअगाडि नै उपन्यासकारको रुपमा बजार पिट्न सफल उनीसँग प्रजु पन्तले गरेको कुराकानी ।

साँच्चै तपाईंको पुस्तक आयो है अब ?
आयो नि ! आवरण पनि अनावरण भइसक्यो । चैत्र १९ गते विमोचन हुँदैछ ।

घोषणा गरेको यत्रो समय लागेको पुस्तक कस्तो छ ?
उपन्यास लेख्छु भनेर घोषणा गरेको नौ वर्ष पुगेछ । मैले सुरुमा जसरी लेखकी थिएँ पछि पुनः पुनर्लेखन गरेँ । स्थलगत अध्ययन धेरै गरेँ । लेख्दा कहिल्यै हतारो गरिन । बिस्तारै लेख्दै गएँ । सकेसम्म पात्रको अन्तर्मनमा पुगेर लेखेको छु जस्तो लाग्छ । पुस्तक कस्तो लेखियो त्यो त पाठकको प्रतिक्रियापछि नै थाहा हुन्छ ।

लेखेको विषयवस्तु के हो ?
पुस्तक मधेसको सामाजिक र राजनीतिकमा आधारित हो । जम्मा एक दिनको घटनालाई आधार बनाएर लेखेको छु । मधेसको आन्दोलन, राजनीतिक सामाजिक परिवेशबारे कम किताब लेखिएका छन् । त्यही भएर पनि मधेसकै विषयमा पुस्तक लेखेको हुँ ।

म आक्रोशित भएँ अनि लेखेँ भन्नुभयो । लेखक बन्न आक्रोशित हुनैपर्छ र ?
अरु लेखकले कसरी लेख्नुहुन्छ थाहा भएन । मेरो सवालमा भने म समाजमा विभेद भएको फिटिक्कै सहन सक्दिन । त्यसले मलाई आक्रोश उत्पन्न गराउँछ र लेख्छु । त्यो आक्रोश पोखेर विद्रोहको ज्वाला निस्कनु पर्छ लेखनमा भन्ने मलाई लाग्छ । रगतले लेखिनु पर्छ कुराहरु । लेखनमा पाठकले रगतको गन्ध पाउनुपर्छ । अर्थात् पिछडिएको, थिचोमिचोमा परेको अपहेलित भएको पात्रबारे लेखिनुपर्छ । यस्तो पात्र देखेपछि म आक्रोशित हुन्छु ।

एउटा पुस्तक लेख्न नौ वर्ष लाग्नुको कारण चाहिँ के हो ?
मेरो लागि लेखन साधना हो । एकादेशको कथा भनेर लेखिएजस्तो होइन । युनिभर्सल भाषा हो । लेख्न बस्दा आफ्नो स्वखुसीमा रहेर लेख्नुपर्छ । मैले सुरुमा जसरी नि लेखिहाल्छु भनेर लेखेँ । पहिलो पाण्डुलिपिमा म आफैँ बढी हावी भएजस्तो लाग्यो । त्यसपछि पुनः पुनर्लेखन गरे । तेस्रो पटक पुनर्लेखन गरे । पाठक बनेर मलाई कस्तो पुस्तक पढ्दा आनन्द लाग्छ भन्ने सम्झिएर लेखेँ । घटनाक्रमकै कारण पनि लामो समय लाग्यो भनौँ ।

पुस्तकै नलेखी लामो समय प्रचार गरेरै बजारमा साहित्यकारको रुपमा चर्चामा बस्नु भयो । बाठी हुनुहुँदो रहेछ है !
किताब लेख्ने घोषणा गर्नुभन्दा अगाडि नै रेडियो नाटक लेखेको हो । नाटककारलाई लेखक तथा साहित्यकार नमान्ने हो र ? त्यस्तो आरोप लगाउनेलाई भन्दिनुस् के सेक्सपियर साहित्यकार होइनन् ? मैले सन् २००७ मा नै नाटक लेखेको हो । अनि म किन साहित्यकार भनेर चिनिन नहुने ?

पहिलो उपन्यासमा कस्तो लेखनशैली अपनाउनुभएको छ ?
म अलि ठाडो स्वभावको छु । मेरो प्रस्तुति पनि ठाडै छ भन्ने पाएको छु । सायद मान्छेले आफ्नो स्वभावअनुसार लेख्दो रै’छ क्यारे ! त्यो मेरो लेखाइमा पनि झल्किएको छ । मधेसको विषयवस्तुमा आधारित भएको हुँदा उतैको बोलीचाली जस्तो छ त्यस्तै पस्केको छु ।

तपाईंको लेखनीमा कसैको प्रभाव छ कि ?
मलाई दमदार लाग्ने लेखक धेरै छन् । अरुन्धती रोय, मार्खेज, टोल्सटोय आदि तर लेख्न बस्दा कसैबाट प्रभावित हुन्न । मलाई कुनै लेखकको लेखनी मन परेको हुनसक्छ तर उसको पुस्तकबाट प्रभावित भएर त्यस्तै लेखियो भने त सकियो नि ! कपी गरेजस्तै भयो । कसैले शिवानीले सेक्सपियरजस्तै लेख्छे भन्यो भने त मेरो त मृत्यु भएछ भन्ने कुरा बुझे हुन्छ । लेखकको आफ्नै शैली हुनुपर्छ भन्ने हो ।

पात्र छनोट कसरी गर्नुभएको छ ?
मैले छनोट गरेका पात्र पिछडिएको समुदाय हो । जातको नाममा हेपिएका वर्गीय शोषणमा परेका पात्र छनोट गरेको छु । महिला पात्र छैनन् । पुरुष पात्रलाई प्रमुख बनाएर लेखेको छु ।

किन महिला पात्र नराख्नुभएको ?
यसबारे अहिले नभनौँ क्यारे !

अलिकति तपाईंको व्यक्तिगत जीवनतर्फ जाउँ, तपाईंलाई के भनेर चिन्ने कार्यक्रम प्रस्तोता, मोडल, लेखक, निर्देशक ?
मेरो पुस्ताले मलाई कार्यक्रम प्रस्तोता भनेर चिन्ला । मोडलिङ त मैले रहरले गरेको हो । मोडलिङ गर्दा पनि म लेखन तथा पठन गरिनैरहन्थेँ । मेरो परिवार नै लेखन–पठन संस्कृति भएको छ । यसरी हेर्दा जे भने पनि हुन्छ । यो भन त्यो नभन भन्न सकिन्न ।

माओवादीले बन्धक बनाएपछि एनटिभीको कार्यक्रम नै छोड्नुभयो है ?
त्यस्तो होइन । मान्छेहरुलाई अझैसम्म पनि भ्रम छ । मैले त्यो कार्यक्रम उनिहरुले बन्धक बनाउनुअगाडि नै छोडिसकेकी थिएँ ।

किन बन्धक बनाएका ?
मोडेलिङको लागि अछाममा गएकी थिएँ । टिभीमा काम गर्ने भएको हुँदा सिआइडी हो कि भन्ने आशंकामा बन्धक बनाएका रहेछन् । जबर्जस्ती सिआइडी हो भनेर स्वीकार्न लगाए । एनटिभीमा नै काम गर्ने सन्तोष पन्त पनि सिआइडी नै हुनुहुन्थ्यो क्यारे ! त्यही भएर मलाई पनि शंका लागेर बन्धक बनाएका रहेछन् । पछि सिआइडी नरहेको कुरा थाहा पाएपछि तीन दिनमा छाडिदिए । तपाईंलाई अर्काे कुरा पनि भनुँ, त्यतिबेला फत्तेसिंह थारुकी छोरीले सिआइडीबाट भत्ता पनि लिन्छे भन्ने हल्ला चलाएका रहेछन् ।

लेखक बन्ने भोक कहिलेबाट लाग्यो ?
जब तपाईं ५० भन्दा बढी किताब पढ्नुहुन्छ भने तपाईंलाई लेख्न हुटहुटी त चल्छ चल्छ । मलाई पनि सुरुमा हुटहुटी चल्यो । पछि अझ पढ्दै जाँदा समाजमा व्याप्त असमानताबारे थाहा पाइयो अनि मभित्र आगो उत्पन्न भयो । अनि लेखनीको भुत चढ्यो । शुक्रबारमा खबर छ ।

लेखेर समाज परिर्वतन हुन्छ जस्तो लाग्छ ?
लेखेर सुनेर धेरै परिवर्तन हुन्छ । साहित्यबाट तपाईंले तत्कालै नतिजा पाउनुहुन्न तर यसले कालान्तरसम्म प्रभाव पारेको हुन्छ । म आफैँ बिबिसी धेरै सुन्छु । पर्यावरणसम्बन्धी कार्यक्रम सुन्दासुन्दै म पनि प्लास्टिक प्रयोग नगर्ने भएको छु । पढरे लेखेर नै हैन र हामीमा चेतना आएको ?

Comment