अग्रगमन किन टक्क रोकियो ?

Posted By OSNepal, California, USA || Date: 11 April, 2018

राजन कार्की
प्रवेश परीक्षामा बसेका अल्बर्ट आइन्सटाइन फेल भए । उनले समयलाई बुझे र त्यसपछि समयसँगै पाइला चलाए । समय र उनको चाल यसरी मिल्यो कि आखिर उनी महान बैज्ञानिक बन्न सफल भए ।
समय राजतन्त्रले बुझेन । यसकारण राजतन्त्र यतिबेला ख्यातिमा त छ तर राजनीतिबाट किनारा लागिसकेको छ । जयजयकारको प्रतिध्वनीमा गुञ्जिएको राजतन्त्रका साथमा हिन्दुराष्ट्रसमेत राजनीतिक बिबाद बनेको छ । यो बिबादको अन्त्य होइन, हिंसाको स्वरुपमा परिवर्तन हुने खतरा बढेर गएको छ । त्यसैले समय जसले बुझ्यो, जित उसैको हुन्छ ।
समय माओवादी जनयुद्धकारीले बुझे । संसदवादीले बुझे र दुबैले मिलेर गला मिलाए कि यतिबेला ती दुबैथरिको शरीर रगत र असफलताले निथु्रक्कै भिजे पनि गलाभरि जीतको माला छ । राजनीतिमा समयको जीतको महत्व हुनेरहेछ । यसरी बिजेता बनेका, सत्ताको शिखरमा बसेर वर्तमान कालखण्डको घोडाको लगाम समातेकाहरुले समय बुझेका छैनन्, त्यसैले तिनको ख्यातिको ओह्रालोयात्रा सुरु भइसकेको छ ।
केही वर्ष अघिको मात्रै इतिहास हेरौं, बेलायतकी राजकुमारी डायनाको मृत्यु भयो । कहिल्यै कसैलाई नपर्खने, कसैका सामु नझुक्ने बेलायतको राजघरानाले उनको लाशलाई प्रतिक्षा गर्नुपर्‍यो । उनको लाशका सामु संवेदनशीलता देखाएर झुक्नुपर्‍यो । घडीको सुई र काल कसैको बसमा छैन भन्ने लोकतान्त्रिक उदाहरण थियो त्यो । जुन उदाहरणका अनेक श्रृंखलाहरु नेपालको राजनीतिमा छरपस्ट देखिन्छन् । सिक्ने हो भने इतिहास शिक्षा हो ।
नेपाल निर्माताले भनेकै थिए– छिमेकीहरुका बारेमा । नेपालको पञ्चशीलको सिद्धान्तका बारेमा । नेपाल दुई ढुंगाको तरुलजस्तो भएकाले बाँच्ने मन्त्र पनि दिएका थिए । ती मन्त्रलाई हामीले अस्वीकार गर्‍यौं, नेपाली गरीवलाई महलको सपना देखाउनुपर्छ भन्ने बुझेका कम्युनिष्टहरुले माओ देखाए, लेनिन देखाए, माक्र्स देखाए र यतिबेला नेपालकै इतिहासमा नभएको घटना भएको छ, शासनाधिकारी कम्युनिष्ट बनेका छन् । शासन कसरी लिने ? कम्युनिष्टले समयलाई च्याप्पै समाते र शासनमा पुगे । शासन कसरी चलाउने ? समयको गतिमा तिनको पाइला फिस्लिन, चिप्लिन थालिसकेको छ ।
नेपाली जनताको स्मरणशक्ति मजबुत भएको भए २०५३ सालमा सेटेलाइटबाट बिजुली बेच्छौं भनेर महाकाली र त्यसपछि टनकपुर सम्झौता गरेर भारतलाई पानी दिने, नेपाललाई सुख्खा बनाउने । भारतले नेपालको पानीबाट बिजुली निकालेर नेपाललाई नै बेचिरहेको छ, यसको मुख्य जिम्मेवार एमाले थियो । एमालेले नचाहेको भए त्यो सन्धि पासै हुनेथिएन । ६ महिनामा बनाउने डिपीआर आज २१ वर्षमा पनि बनेको छैन । त्यो डीपीआर बनाउन र जनबहस चलाएरमात्र पास गरिनेछ भन्न एमाले सकिरहेको छैन । एमालेका तत्कालीन महाकाली सन्धिका समर्थक केपी ओली छन् र उनी भोलि भारत जाँदै छन् । उनले १९५० को सन्धिको कुरा उठाउने छैनन् भनेर प्रवुद्ध समूहका संयोजक डा.भेषबहादुर थापाले खुलासा गरिसके भने चैत २१ को संसदमा उभिएर प्रधानमन्त्री ओलीले नेपाल झुक्ने सम्झौता गरिन्न, लाभ हुने कुरामा समझदारी गरिन्छ भनेका छन् । त्यो लाभ हुने समझदारी महाकालीको पानीका विषयमा, नेपालका सिमाना मिचिएका विषयमा, नेपालका विकास निर्माणका विषयमा उनले गर्ने साहस देखाउनु जरुरी छ ।
२ हप्ताअघि युरोपियन युनियनले खस आर्यलाई बाइकट गर्न आदेश जारी गरेको छ । यसको कडा प्रतिवाद गर्न सकेन ओली सरकारले । तीतो पोख्यो र चुप लाग्यो । चेतना भया, नेपालमा बढेको विदेशीकरण र दबदबा र नेताहरुको निरीहताको सवालमा पनि समय र कालचक्रले जवाफ दिनेछ । नेपाली जनतामा दिनदिनै हुर्कदै गएको चेतनाको तापक्रम एकदिन पुरै तातेर उम्लने छ । त्यसदिन नेपालविरुद्धका हरेक अभिष्ठहरुलाई त्यही नेपाली चेतनाले रोक्नेछ, काँढे कोर्रा ठोक्ने छ र आफ्नो स्वतन्त्र छविलाई कायम गर्नेछ ।
राजनीतिमा निषेध र विभेदको जरा बाँकी छ । जनजनमा जातिवाद र क्षेत्रवाद, यहाँसम्म कि उग्रवाद, बहुलराष्ट्रवाद राष्ट्रिय मुद्दा नै बनेका छन् । यसबाहेक पनि हिन्दु र राजावाद त राजनीतिक शक्ति नै बनेका छन् । यो अवस्थालाई सामान्यीकरण गर्न विकासका नाममा, मानवाधिकार र समानताका नाममा जसरी डलरको ओइरो लागेको छ, त्यो ओइरामा चलेका विदेशी घट्टले अर्को रक्तपात निम्त्याउन सक्ने डरलाग्दा संकेतहरु जो कसैले देखिरहेका छन् । नेपाली एकता र एकताको विशेषता बचाउन राजनीति र सरकार प्रभावकारी भूमिकामा देखिएको छैन ।
लोकतन्त्रको आवरणमा रहेका विदेशी खेताला बुद्धिजीवी र अधिकारकर्मीको मुखुण्डो लगाएका अनुहारहरु डूढेलो सल्काउने झिल्को बनेका छन । राजनीतिक शक्तिहरु मूर्दातुल्य हुनु, उनीहरुमा जिवन्तता नदेखिनु भयानक भयको संकेत हो । एमाले, कांग्रेस, माओवादी र मधेसवादी चार तत्व छन्, यी चार तत्वभन्दा माथि विदेशी तत्वले चलखेल गरिरहेको छ, जसले राष्ट्रिय एकतालाई टीवीको बिरामी जसरी कमजोर पार्दैछ । विदेशीको चासो चीनको बढ्दो आर्थिक दबदबा रोक्नमा छ र नेपालको प्राकृतिक साधनस्रोत, पानी, युरोनियम, सामरिक महत्व भूगोलमा छ । यस दृष्टिबाट नेपालको महत्व युरोप अमेरिका लागि अहं छ, भारतका लागि झन बढी छ । चीन यी सबै अन्तर्राष्ट्रिय शक्तिसँग लड्न खुलेआम नेपालको राष्ट्रियताको समर्थनमूल्य अर्थात लगानीसहित प्रवेश गरिसकेको छ । हाम्रो क्षमता उजिलिने बेला यही थियो । बुद्धि पुर्‍याउन सके नेपालको विकासको ढोका खोल्ने समय हो । यो समयसँग नेपालको शासक बर्ग चल्न सकेका छैनन् । उही भ्रष्टाचारको गन्धे किरा, नेपालको नियति योभन्दा माथि उठ्न सकेको छैन ।
७ प्रदेश, केन्द्र र स्थानीय सरकार ७ सय ५३ अर्थात, पहिले श्री ५ को सरकार थियो, लोकतन्त्रमा नेपाल सरकार त छ तर नेपालमा ७ सय ६१ सरकार छन् र सबैले आफ्ना कानुन बनाउन पाउने छुटसमेत पाएका छन् । धुलो, धुवाँ, अनियमितता र भ्रष्टाचारमा रलमलिएको नेपालको शासन प्रशासन अन्योलग्रस्त छ । यो अन्यौललाई चिर्नसक्ने एकजना अभिभावकीय भूमिका निभाउनसक्ने राजनेता हुनसकेको भए नेपालको कायापलट नै हुनेथियो । नेपाल त झन झन अस्तव्यस्त हुन थालेको छ ।
नीति नियम र नैतिकता : यत्ति भए नेपाल निर्माण गर्न अर्को कुनै तत्व आवश्यक थिएन । न नीति छ, न नियम, न नैतिकता नै । जे छ, राजनीति छ, राजनीतिक अभिष्ठ छ, चम्कनुपर्ने नेपालको ठूला ठूला परिवर्तनपछि झन खिया लागेर सुदूर भविष्य अन्धकारमय बन्दैछ ।
नेपालको अस्थिरताको कारण विदेशी हस्तक्षेप हो, योभन्दा ठूलो खतरा नेताहरुको साँघुरो मनस्थिति र अदूरदर्शी सोचमा छ । नेपालको हरेक क्षेत्रमा भारत देखिन्छ तर त्यो भारतलाई हाम्रा नेताहरुले बोकेका छन् । त्यो विदेशी हस्तक्षेपलाई मलजल दलहरुले गरिरहेका छन् । २०४६ सालको चाक्सीबारीदेखि आजसम्म परिदृश्य हेरौं, त्यहाँ नेपाली नेताहरुको दासता र अराष्ट्रिय अनुहारमात्र देखिन्छ । अझै समयलाई नचिन्ने ? समय हाम्रो बसमा छ भन्ठानेका छन् नेताहरुले, समय कसेको बसमा पनि हुन्न रहन्न । ०६३ को आन्दोलनको सफलतापछि शक्तिशाली बनेका नेताहरु निरङ्कूश, अनुदार र अनुत्तरदायीसमेत बनेका छन । शव्दले कोही अधिकारकर्मी अथवा लोकतन्त्रवादी बन्न सक्दैन । समयले खरी घस्छ र छ्यानबिन गर्छ । राजनीति पाखण्ड रोपिरहेछ, राष्ट्र मूल्य चुकाइरहेछ । हो, गणतन्त्र आएपछि नेताहरुको कलेटी परेको ओठ रगतले भरियो, अनुहारमा लाली चढ्यो, आँखामा चमक देखियो । चप्पले नेताहरु पजेरोमय बनेका छन् । पलेटी कसेर हातले टपरीमा भात खाने नेताहरु आलिसान महलको डाइनिङ टेबुलमा बसेर सुनको चम्चाले भुजा ज्यूनार गर्न थालेका छन् । यही हो लोकतन्त्र ? ९० प्रतिशत लोक, दिनभरि पसिना बगाएर एक पेट खान र शान्तिले सुत्न पाएका छैनन् । यस्तो गैबारे लोकतान्त्रिक वातावरणको धक्कु लगाउन मिल्छ नेतृत्व तहले ? जनताले लोकतन्त्रका नेताहरुको राजतन्त्रको निरंकूशता अन्त्य गर्न म्याग्नाकार्टाका लागि आन्दोलन गरे, अनुदार पञ्चायत, बहुदल त्यागेर ल्याएको लोकतन्त्र, झन सर्वसत्तावादी भयो । त्यस्तो आन्दोलन फेरि पनि हुनसक्छ । चेतना भया ।
राष्ट्रपति रिसल्ला र सुरक्षाकर्मीको भीडमा सडक नै सुनसान पारेर हिड्न थालेकी छिन् । नेताहरुको चरित्र र व्यवहार लोकमैत्री, लोकमय पटक्कै देखिन्न । देशमा नयाँखाले राजखान्दानको उदय भएको छ । यिनका नातेदार, राजखलक बनेका छन् । नयाँ सामन्तीपन, शोषणको श्रृङ्खला र अत्याचार सुरु भयो । समाजमा, राष्ट्रमा आउनुपर्ने परिवर्तन नेता खानदानमा मात्र देखिन्छ । न्याय र कानुन तोडेर लोकलाई त्रासदीमा होम्ने लोकतन्त्रका नेताहरुले कूशासनयुक्त प्रजातन्त्रको जडौरी पनि भन्न नमिल्ने गरी बदनाम गरे लोकतन्त्रको । जनताप्रति दायित्ववोध नगरेर नेताहरुले देश डुबाउन थालेका छन् ।
कुनचाहिं दल नेपालपरस्त, लोकपरस्त छ ? कुनचाहिं राजनीतिक निर्णय माटो हातमा समातेर गरिएको निर्णय हो ? नेपालको राष्ट्रिय गान कण्ठ गाउन नसक्ने नेताहरु नेपाललाई राष्ट्रियताको पाठ पढाइरहेका छन् । राष्ट्रियताले ओतप्रोत भाषणबाजी गरेर व्यवहारमा राष्ट्रियताको घर भत्काउने नेताहरु ‘माकुरा’ बर्गका हुन् । माकुरा बर्गले जन्मजात भोक आमाको मासु टोकेर मेट्छ । नेपालका लागि अभिषापको सूची लामो छ । सतीको सराप मोचन गर्न कुनै जननेता तैयार देखिन्न ।
भुक्तीमुक्तिको उपाय एउटै छ, समयको गतिमा चल्नु । समय बढिरहेको छ, नेपाल अग्रगमनमा लागकै छैन, मानौं, नेपाल शान्ति, सुशासन र समृद्धिको सपना बाँडेर सिंहदरवारमा टक्क रोकिएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!