मासिक १० लाख खर्च माग्दै क्रिकेटरकी पत्नी अदालत पुगेपछि


भारतीय क्रिकेटर महम्मद सामीका पत्नी हसिन जहाँले मासीक १० लाख खर्च माग्दै अदालतमा सामी विरुद्ध मुद्धा दायर गरेकी छिन् । उनले आफू र छोरीको खर्च धान्न मासिक १० लाख रुपैयाँ खर्च लाग्ने दाबी गर्दै अदालतमा मुद्धा हालेकी हुन् । उक्त मुद्दामा भारतको घरेलु हिंसा सम्बन्धी ऐन २००५ अनुसार सुनुवाइ भएको छ ।

अदालतले यस विषयमा सामी र अन्य संवद्ध व्यक्तिलाई १५ दिनभित्र जवाफ पेश गर्न बोलाएको छ । विपक्षीले जवाफ पेश गरेपछि यस विषयमा मे ४ तारेखमा सुनुवाई हुने जहाँका वकिल जाकिर हुसेनले बताएका छन् । मंगलबार विहान साढे १० बजे अदालत पुगेकी जहाँले सामीसहित उनकी आमा अन्जुमान एरा बेगम बहिनी सबिना अन्जुम, भाइ हासिब अहमद र हासिबकी पत्नी समा प्रविनलाई पनि विपक्षी बनाएकी छन् ।

यसअघि गएको मार्च ८ तारेखमा पनि जहाँले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले यस विषयमा सामीको गाउँमा पुगेर गाउँले र आफन्तहरुसँग कुरा बुझेको छ तर सामीसँग भने सोधपुछ गरेको छैन । ‘यो मुद्दा र यसअघि प्रहरीमा दिएको उजुरी भिन्न विषय हुन् । जहाँले यो कुरा उठाउन थालेपछि सामीले एक पैसा पनि दिएका छैनन् । उनले १ लाखको चेक दिएका थिए त्यो पनि बाउन्स भयो । अहिले जहाँसँग मासिक खर्च धान्न पनि पैसा छैन’ जहाँका वकिलले भनेका छन् ।

सामीले वर्षमा करोडौं रकम कमाउने भएकाले पत्नीलाई रकम दिन समस्या नहुने वकिल जिकर हुसेनले बताएका छन् । ‘परिवारको हेरचाह गर्ने, पत्नी र छोरीको खर्च ब्यहोर्ने उनको दायित्व हो, तर जहाँले ७ लाख र छोरीका लागि ३ लाख गरी १० लाख मात्र माग गरिएको छ’ उनले भने ।

Comment