‘संगीत स्टार २०१८’: ‘ पर्फेक्ट आर्टिस्ट’को खोजीमा देशैभर अडिसन


गायन तथा नृत्य विधामा भविष्य खोज्ने तथा कला भएर पनि उपयुक्त अबसर पाउन नसकेका संभावनावान प्रतिभाहरुलाई स्थान दिने उद्देश्यका साथ ‘संगीत स्टार २०१८’ सुरु भएको छ । संगीत फिल्मस् को आयोजनामा हुँदै गरेको संगीत स्टारको दोश्रो संस्करणको केहि जिल्लामा अडिसन समेत सम्पन्न भईसकेको छ ।

कार्यक्रम निर्देशक संगीत बस्यालले लुकेर रहेका क्षमतावान प्रतिभाहरुलाई ‘पर्फेक्ट आर्टिस्ट’ बनाउने उद्देश्यका साथ संगीत स्टारको दोश्रो संस्करण सुरु गरेको बताए । जस अन्तर्गत पुर्वी नेपालको बिराटनगर, ईटहरीसँगै चितवन, हेटौँडा लगायतका ठाउँमा पहिलो चरणको अडिसन सम्पन्न भईसकेको छ । देशमा मुख्य मानिने १२ शहरमा अडिसन गर्ने घोषणा सहित सुरु भएको संगीत स्टारको दोश्रो संस्करणमा अब पोखरा, बुटवल, नेपालगञ्ज, बनेपा, सिन्धुली, धनगढी, भैरहवा र काठमाडौँमा अडिसन हुन बाँकी छ । अडिसन हुन बाँकी उल्लेखित स्थानहरुको लागी पनि मिति तय हुने क्रम चलिरहेको बस्यालले बताए ।

४ बर्षदेखि ६५ बर्षको उमेर समुहका जो कोहिले सहभागीता जनाउन सक्ने संगीत स्टारको विभिन्न शहरमा हुने अडिसनबाट पहिलो चरणमा ३० प्रतिभालाई छनोट गर्ने र त्यसपछि एक अर्को शहरसँगको समन्वयमा ३० कै जोडघटाउको आधारमा प्रतिभाहरु छनोट गरिने आयोजकले बताएको छ । यसको बारेमा विस्तृत विवरण संगीत स्टार २०१८ को अफिसियल वेभसाइट र फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।

नृत्य र गायन दुबै विधामा एकसाथ सुरु भएको अडिसनमा गायनतर्फ संगीतकार रेखा पौडेल र डान्स तर्फ कोरियोग्राफर राजेन्द्र कमल राई मुख्य निर्णायकको रुपमा रहेका छन् । पहिलो चरणको अडिसनमा हरेक शहरबाट दोश्रो राउण्ड सकिएसँगै तेश्रो राउण्डदेखि ३० प्रतिशत भोटिङ र ७० प्रतिशत निर्णायकको ‘जजमेन्ट’को आधारमा र क्रमशः चौथो राउण्डमा ४०/६० प्रतिशतको भोटिङ हुँदै १२ वटै शहरबाट उत्कृष्ट ३० प्रतियोगीलाई काठमाडौं ल्याईनेछ ।

त्यसबाट गायन र नृत्य दुबै विधाको ३०, ३० जना अन्तिम अडिसनको लागी छनोट हुनेछन् । जुन कार्यक्रमको प्रशारण सम्बन्धित शहरका स्थानिय टेलिभिजनसँगै काष्ठमण्डप टेलिभिजनबाट हुनेछ । फाइनल राउण्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत निर्णायकको चयनको आधारमा अर्को चरण प्रवेश दिने बताईएको छ । यो भन्दा पहिले राजधानीमा नै ख्यातिप्राप्त कलाकारहरुको उपस्थितीमा कम्तिमा डेढ महिना विधागत प्रशिक्षण दिईने बताइएको छ ।

उक्त अडिसन अन्तर्गत हरेक हप्ता दुई, दुई जना बाहिरिँदै जानेछन् र त्यसबाट खारिँदै आएका (नृत्य र गायन) दुबै विधाका उत्कृष्ट प्रतिभालाइ विजयी घोषणा गरिनेछ । विजयीलाई २ लाख नगदसँगै स्कुटर र ८ लाख बराबरको कन्ट्रयाक सहित युकेमा हुने ग्राण्ड सांगितिक कार्यक्रममा प्रमुख आकर्षको रुपमा उपस्थित गराउने आयोजकले बताएको छ ।

यसैबीच कार्यक्रम निर्देशक बस्यालले यो रियालिटी शो मा गायन तथा नृत्यमा प्रयोग हुने सबै गीत संगीतका स्रष्टाहरुलाई उपयुक्त रुपमा रोयल्टी पनि प्रदान गर्ने समेत बताएका छन् । सम्बन्धित गीत, संगीतका स्रष्टाहरुलाई सिधा रुपमा रोयल्टी प्रदान गर्न लागिएको संभवत यो पहिलो शो हुनसक्छ ।

Comment