सरकारले बिर्सियो संस्कृत विश्वविद्यालय, बेहाल बन्दै छ वाल्मीकि-विद्यापीठ



balmekaiओएस नेपाल, काठमाडौँ, १० पुस । नेपाल संस्कृत विश्व विद्यालयअन्तर्गतको सबैभन्दा ठूलो र धेरै विद्यार्थी अध्ययन गर्ने वाल्मीकि–विद्यापीठ जीर्ण बन्दै गएको छ ।

विसं २०३० देखि वाल्मीकि–विद्यापीठ रहँदै आएको प्रदर्शनी मार्गस्थित हालको भवन पुरानो भएसँगै मर्मत सम्भार हुन नसक्दा जीर्ण बन्दै गएको हो ।

विद्यापीठ पुरानो भएपछि टायलको छाना चुहिँदा, शौचालय तथा कक्षाकोठामा झ्याल ढोका भत्किँदा समस्या देखिएको छ । भवनको पर्खालमा लेउ पलाएको छ भने वरपीपलका बिरुवा र झार पलाएर भवन कुरुप बन्दै गएको छ ।

विद्यापीठको भवनलाई रङरोगन गर्दै पुनःसंरचना गर्नुपर्ने र पुस्तकालयलाई व्यवस्थित बनाउनुपर्नेलगायतका माग गर्दै विभिन्न विद्यार्थी सङ्गठनले आलोपालो प्रशासन शाखामा तालाबन्दी गर्दासमेत व्यवस्थापनले कुनै चासो नदेखाएको भन्दै नेपाल विद्यार्थी सङ्घ नेपाल संस्कृत विद्याविद्यालयका अध्यक्ष वामदेव अधिकारीले गुनासो गरे ।

विद्यापीठमा विद्यार्थी सङ्घ सङ्गठनको नाममा लिइएको कक्षाकोठा तत्काल खाली गराई सबै विषय अध्ययन गर्न कक्षा कोठाको तुरुन्त व्यवस्था गरी पठनपाठन नियमित र व्यवस्थित गर्नुपर्ने माग गर्दै विद्यार्थी सङ्गठनले मङ्सिर २६ गतेदेखि प्रशासन बन्द गर्दै आएका छन् । पछिल्लोपटक  विद्यापीठमा शैक्षिक एवम् प्रशासनिक अवस्था खस्किँदै र बिग्रँदै गएको अध्यक्ष अधिकारीको भनाइ छ ।

तर विद्यापीठका प्राचार्य डा लालामणि पाण्डेयले विद्यापीठको भौतिक संरचना जीर्ण बन्दै गए पनि पठनपाठनमा भने कुनै कमी नआएको दाबी गरे । “भवन जीर्ण बन्दा टायलको छाना चुहिन्छ, झ्याल ढोका पुरानो भएर भत्केका छन् यो यथार्थ हो, त्यही भवन पुनःसंरचना गर्ने बारेमा विश्वविद्यालयसँग कुरा पनि भइरहेको छ, तर पठनपाठन भने पहिलेकै गतिमा अगाडि बढिरहेको छ” बताए ।

काठमाडौँ उपत्यकामा चिरकालदेखि चल्दै आएको संस्कृत अध्ययन अध्यापन परम्पराकै विकसित रुपमा उच्च शिक्षालाई सही ढङ्गबाट व्यवस्थित गर्न २००९ सालमा स्थापना गरिएको तत्कालीन राजकीय संस्कृत विश्वविद्यालयलाई २०२४ सालमा वाल्मीकि संस्कृत महाविद्यालयका रुपमा विकसित हुँदै २०३० सालमा हालको वाल्मीकि–विद्यापीठ राखिएको हो । विद्यापीठमा अहिले करिब ७०० जना विद्यार्थी रहेको प्राचार्य पाण्डेयले जानकारी दिए ।

हाल सो विद्यापीठ २०४३ सालमा स्थापना भएको संस्कृति विश्वविद्यालयका १४ वटा आङ्गिक विद्यापीठमा सबैभन्दा विशिष्ठ विद्यापीठका रुपमा मानिन्छ । वाल्मीकि विद्यापीठमा हाल प्रमाणपत्र तहदेखि आचार्यतहसम्म प्रचलित विभिन्न शास्त्रीय विषय र कतिपय आधुनिक विषयको पनि पठनपाठन गरिन्छ ।

संस्कृत र अन्य आधुनिक गरी करिब ३० हजारको सङ्ख्यामा पुस्तक रहेको वाल्मीकि–विद्यापीठ पुस्तकालय पनि लथालिङ्ग अवस्थामा छ । पुस्तकालय व्यवस्थित हुन नसक्दा आवश्यक पुस्तक भेटाउनै समस्या हुने गरेको विद्यार्थीको गुनासो छ ।

नेविसङ्घ वाल्मीकिका पूर्व अध्यक्ष शिव पौडेलले पुस्तकालयलाई व्यवस्थित गर्नेजस्ता सामान्यभन्दा सामान्य माग पनि सुनुवाइ हुन नसकेको बताए ।   नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा शिवहरि मरहट्ठाले बजेटको अभावकाबीच पनि वाल्मीकि–विद्यापीठलाई मर्मतसम्भार वा पुनःसंरचना गर्ने बारेमा छलफल भइरहेको जानकारी दिए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विद्यापीठका सचिव सुरेश घिमिरेले विद्यापीठ पुस्तकालयमा पुस्तक थप गर्ने, छात्रवृत्तिमा पारदर्शिता हुनुपर्ने माग गर्दै पटकपटक सङ्घर्षका कार्यक्रम गर्दासमेत सुनुवाइ नभएको गुनासो गरे ।

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घले संस्कृत माध्यमिक विद्यालय नभएको अवस्थामा संस्कृत भाषालाई सेवाका साथै व्यावसायिक रूपमा अगाडि बढाउनुपर्ने र संस्कृत विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गर्दै आएको छ ।

विभिन्न कालखण्डमा गुरुकुल, आश्रम, मठमन्दिर, बौद्धविहार, राजा र समाजद्वारा संरक्षित हुँदै आएको संस्कृत शिक्षाको संस्थागत विकासको प्रारम्भ विसं १८४८ (सन् १७९१) मा भारतको बनारसमा स्थापित गभर्मेन्ट संस्कृत कलेजबाट भएको नेपाल संस्कृत विद्याविद्यालयका पूर्व उपकुलपति प्रा माधवराज गौतमले जानकारी दिए ।

प्रा गौतमले नेपालको सन्दर्भमा उक्त कलेज स्थापना भएको केही वर्ष पहिले अर्थात् विस १८४२ भन्दा पहिले तत्कालीन कास्कीका राजा सिद्धिनारायण सिंह शाहले कास्कीको पोखराथोकमा गुठी राखी त्यसको आयस्ताबाट विद्यार्थीका लागि छात्रावास र पढाउने अध्यापकको व्यवस्था मिलाएर खोलेको विद्यालय नै प्रथम विद्यालय हो । रासस

Comment