यस्ता नेपाली जो आरनमा फलाम पिटेरै बने लखपति

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

लमजुङ– सीताराम कामी बेसीसहरका आरन व्यवसायी हुन् । विहानदेखि साँझसम्म उनी आरन मै भेटिन्छन् । गाउँघरमा प्रयोग हुने हँसिया, बन्चरो, कोदालो बनाउँदा र अर्चाप्दैमा उनको दिन बित्छ । उनी भन्छन्, ‘आरन चलाउनुमा मलाई पछुतो छैन, न अन्तुष्ट छु।’

कामीको पुख्र्यौली घर धादिङ हो । २२ वर्षअघि धादिङबाट श्रीमती र ४ लालाबालासहित बेसीसहर आएका उने अहिले बेसीसहरमै घर घडेरी जोडेका छन् । आरनबाटै भएको आम्दानीले दुईवटा ट्याक्टर किनेर अर्काे व्यवसाय थपेका पनि छन् ।

आरन व्यवसाय गर्नेलाई गाउँघरमा जातीय विभेद र छुवाछुतको व्यवहार गर्ने प्रवृत्ति अहिले पनि कायमै छ ।
फलामका हँसिया, खुर्पा, बञ्चरो, कुटो, कोदालो, खुँडा, खुकुरी, फाली, करुवा जस्ता घरेलु र कृषि औजार बनाउने र तिनै औजार अर्चाप्ने कामबाट उनले मनग्गे आम्दानी गरेका छन् । विशेषगरी दलित समुदायका विश्वकर्माले गर्दै आएको पुख्र्यौली पेसा आरनको काम अहिले जिल्लाको अधिकांश गाउँबाट हराइसकेको छ ।

गाउँमा पर्याप्त आरन नहुँदा सदरमुकाम बेसीसहर, गाउँसहर, उदीपुर, भोटेओडार, चिती, बाँझाखेत, भुलभुले, खुदी, सिम्पानी, चण्डीस्थान, नाल्मा लगायतका गाउँका ग्राहकले उनको आरनबाट सेवा लिँदै आएका छन् । ‘गाउँमा काम गर्नेहरू सबै साउदी र कतार हिँडिहाले’, उनी भन्छन्, ‘कुनै गाउँमा आरन छैन, त्यसैले पनि होला कामको चाप नै छ ।’ उनले दैनिक ५ हजार रुपैयाँको कारोबार गर्दै आएका छन् । आरनमा उनीसहित ४ जनाले रोजगारी पनि पाएका छन् । ‘कमाइ जति नै भए पनि के गन्ती हुन्छ र’, उनले भने, ‘बचत कति हुन्छ त्यसको हिसाब गर्न सकियो भने केही गर्न सकिन्छ ।’

हातमा सीप र मनमा जाँगर भए खाने लाउने समस्या नहुनेमा ढुक्क रहेका उनी, विगत २२ वर्षदेखि आरनमा घन, मैरी, रेती, सनासो र चर्खासँगै मितेरी गाँस्दै आएका छन् । धादिङ साविक कम्पुर गाविस ५ सालबासका विकलाई सुरुका दिनमा परिवारको पालन पोषण कसरी गर्ने भन्ने चिन्ता थियो । बेसीसहरमा आएपछि आफ्नो पुख्र्यौली पेसा र बाबु बाजेबाट सिकेको फलामे औजारसम्बन्धी सीपले नै उनलाई आजको अवस्थामा ल्याइपु¥याएको हो । गाउँघरमा छँदा बाउबाजेले बालीघरे चलनअनुसार आरन पेसा गर्दा पैसा देख्नै मुस्किल पर्ने बताउँदै आफूले नगदमा काम गर्न थालेपछि आर्थिकरूपमा राम्रो भएको उनले बताए ।

आरनकै कमाइबाट ६ जनाको पालनपोषणसँगै केही वर्षअघि बेसीसहरमा घडेरी किनेर घरसमेत बनाएका छन् । त्यस्तै पुटपुटे ट्याक्टर, ठूलो ट्याक्टर, मोटरसाइकल लगायतका सम्पत्ति जोडेको पनि उनले बताए । खट्न सक्ने हो भने आरनबाट राम्रै कमाइ हुने देखिएको छ । रोजगारीको खोजीमा भौंतारिएका युवाले चाहने हो भने आफूले सीप सिकाइदिन चाहेकोमा थोरैले मात्रै ध्यान दिएर काम सिकेको उनले बताए । उनको आरन व्यवसायमा छोराले पनि सहयोग गर्दै आएका छन् । आफू आरनमा नखट्ने तर अन्य व्यवस्थापनमा सहयोग गर्ने छोरा नरेश विक बताउँछन् । दुईवटा ट्याक्टर मार्फत ढुवानी सेवाको व्यवस्थापनमा खट्नु पर्ने भएकाले उनी दुवै व्यवसायको व्यवस्थापनमै व्यस्त रहने उनको भनाइ छ । अहिलेको अवस्थासम्म ल्याउन आरन व्यवसायकै भरथेग भएको उनले बताए ।

आरन व्यवसायका लागि गोल(कोईला)को निकै समस्या हुने विक बताउँछन् । वर्षेनी कात्तिकदेखि फागुनसम्म उनी बाँझाखेत, गाउँसहर, ज्यारखाङ लगायतका जंगलमा गोल पोल्छन् । गोेल संकलनका लागि वार्षिक झण्डै साढे ४ लाख रुपैयाँ सामुदायिक वन समूहलाई भुक्तानी गर्ने उनी बताउँछन् । हिउँदमा गोल पोलेपछि वर्षभरि नै पुग्छ । गोल पोल्न भने धेरै समस्या भोग्दै आएको उनले दुखेसो गरे । घरभान्सादेखि साना उद्योगसम्म दैनिक प्रयोग गरिने सामान निर्माण गरेर सेवा पु¥याएकोले सम्बन्धित निकायले गोल पोल्ने सहज व्यवस्था मिलाइदिनुपर्ने दाबी उनको छ । नागरिकले छापेको छ ।

आरन व्यवसाय गर्नेलाई गाउँघरमा जातीय विभेद र छुवाछुतको व्यवहार गर्ने प्रवृत्ति अहिले पनि कायमै छ । बजारक्षेत्रमा त्यस्तो प्रवृत्ति केही कम रहेको बताउँदै आफ्नो सीपबाट सबै जातिको काम हुने तर कसैले सानो जाति भनेर आफूलाई हेप्ने गरेकोमा दुःख लाग्ने उनी बताउँछन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!