मोबाइल हरायो ? चिन्ता लिनुपर्दैन



mobile1ओएस नेपाल, चितवन, ११ पौष । कतै राम्रा र महङ्गो मोबाइल सेट सस्तोमै पाइयो भनेर ढुक्कले किन्दै हुनुहुन्छ कि ? मङ्हगो माबोइल बोक्ने रहर सस्तो मूल्यमै पूरा भयो भनी ढुक्क नहुनुहोस् । अब मोबाइल चोरी भएका वा हराएकाहरु पनि नआत्तिए हुन्छ ।
चितवन प्रहरीले पछिल्लो समय मोबाइल चोर्ने र चोरीका मोबाइल किन्नेहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीले मोबाइल खोजी गरेर सम्बन्धित धनीलाई फिर्ता गर्न थालेको छ । प्रहरीले एकैदिन ४ वटासम्म चोरी मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गर्न सफल भएको छ ।
चितवन प्रहरीले पुस १ गतेदेखि १० गतेसम्मको अवधिमा १२ वटा मोबाइल सेट फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ । न्यूनतम १० हजारदेखि अधिकतम ८० हजार रुपैयाँ मूल्य भएका मोबाइल सम्बन्धित ग्राहकलाई फिर्ता गरिएको चितवन प्रहरीले जनाएको छ । १२ सेटको मूल्य कुल ३ लाख ३९ हजार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक रुगम कुँवरले पछिल्लो समय मोबाइल चोरी भयो भनी प्रहरीमा धेरै नै उजुरी परेको बताए । निरीक्षक कुँवरले भने, ‘हरेक मोबाइलमा हुने आईएमई कोडका आधारमा पत्ता लगाइ मोबाइल पुनः फेला पार्न हामी सफल भएका छौँ ।’
साथै उनले मोबाइलमा हुने आईएमई कोड सुरक्षित राख्न सकेमा मोबाइल चोरी भएको तथा हराएको अवस्थामा त्यस मोबाइलमा दोस्रो व्यक्तिले प्रयोग गरेको सिमका आधारमा हराएको मोबाइल कसले खेलाइरहेको छ भन्ने सजिलै थाहा हुने जानकारी दिए ।
प्रहरीले दोस्रो व्यक्तिबाट मोबाइल खरिद गर्दा ख्याल गर्न सबैैमा अनुरोधसमेत गरेको छ । २७ हजार ५ सय रुपैयाँमा किनेको मोबाइल हराएपछि भरतपुरका सुवास आचार्यको केही दिन तनावमै बिते । भर्खरै बजारमा आएको समयमा ग्यालेक्सी एस फोरनामक मोबाइल किनेको बताउँदै सुवासले भने, ‘भेटिएला भन्ने आश थिएन तर हराएको ६ महिनापछि पुनः भेटियो भनी थाहा पाउँदा निकै खुशी लागेको छ ।’
उनले २७ हजार ५ सयमा किनेको उक्त मोबाइल सेट क्यान्सर अस्पताल गेट अगाडिकी एक महिलालो १६ हजारमा दोस्रो व्यक्तिबाट किनेर चलाउने गरेको पत्ता लागेका प्रहरी निरीक्षक रुगम कुँवरले बताए ।
भरतपुरकै बिनु लम्सालको ८० हजारको सेट कात्तिकमा हरायो । महङ्गो मोबाइल सेट गुमाएका लम्सालको उक्त मोबाइल काठमाडौँमा अर्को व्यक्तिले प्रयोगमा ल्याएको चितवन प्रहरीले पत्ता लगायो । हराएर वा चोरी भएर माया मारिसकेको मोबाइल सेट पुनः भेटिँदा सेवाग्राही खुशीका साथै अचम्मित पनि बन्ने गरेका छन् ।

Comment