थाहा पाउनुहोस् किन दुख्छ टाउको ? अनि के छन् यसबाट बच्ने उपाय

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

संसारका प्राय मानिसहरु कुनै न कुनै दुखाईबाट पिडित छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्राय मानिसले आफ्नो जीवनमा एक या एकभन्दा बढीपटक टाउको दुखाइको समस्याबाट ग्रसीत हुन्छन् ।

मानिसले टाउको दुख्नुलाइ सामान्य कारण मानेपनि यो प्राण घातक सम्मको हुन सक्छ । चिकित्सकहरूले जुनसुकै उमेर समूहका व्यक्तिलाई टाउको दुख्दा सामान्य रूपमा एकपटक आँखा जचाउन सल्लाह दिने गरिन्छ ।

टाउको दुख्नुको कारण आँखासम्बन्धी समस्याले नै हुन सक्छ । आँखाको जाँचपछि वा आँखाको समस्याको उपचारपछि पनि टाउको दुख्न नछाडे समस्या अर्कै हुन सक्छ । खासमा टाउको दुख्नुका कारण यस्ता छन् :

तनाव
तनाव लिइरहँदा मानिसलाई टाउको दुखीरहेको हुन्छ । चिकित्सकका अनुसार यो सामान्य रूपमा हुने टाउको दुखाइको एक प्रकार हो । यस्तो प्रकारको दुखाइमा व्यक्तिले आफ्नो टाउको केही कपडाले कसेर बाँधेझैँ महसुस गर्छन् ।
माइग्रेन
सामान्य बुझाइमा यसलाई आधा टाउको दुखेको पनि भनिन्छ । तर माइग्रेन आफैँमा व्यापक विषय हो । यो प्रकारको दुखाइमा टाउकाको कुनै एक भाग (कहिले दाहिने, कहिले देब्रे) दुख्ने गर्छ । यो अवस्थामा वाकवाकी आउने, बान्ता हुने, उज्यालोमा हेर्न असहज हुनेजस्ता समस्या पनि हुन्छ ।

क्लस्टर हेडेक
दिनमा कुनै एक समयमा दुख्ने र फेरि निश्चित समयको अन्तरपछि दुख्ने लक्षण देखिन्छ । यो प्रकारको टाउको दुखाइ थोरै मानिसमा मात्रै हुने गर्छ । बिरामीले यो प्रकारको दुखाइमा जीवनकै सबैभन्दा बढी दुखाइको रूपमा चित्रण गर्छन् ।

कस्तो दुखाइमा डाक्टर कहाँ जाने ?

० अन्य सामान्य अवस्थाको भन्दा फरक किसिमले दुखेमा ।
० अचानक र असाध्यै दुखेमा ।
० दुखाइसँगै ज्वरो आउने, खोकी लाग्ने, घाँटी उचाल्न वा घुमाउन असजिलो भए ।
० टाउको दुखाइसँग आँखा हेर्न अप्ठ्यारो हुने, एउटा चिज दुईवटाजस्तो देखिने, हातगोडा लाटो हुने, चक्कर लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखिए ।
० टाउको दुख्नुको संवेदनशीलताबारे सजग भएर सकेसम्म तुरुन्त दक्ष चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

टाउको दुखाइ कम गर्न के गर्न सकिन्छ ?

टाउको दुखे वा दुख्लाजस्तो भए दैनिक जीवनमा निम्न विषयमा ध्यान दिनुपर्छ । केही पाटोमा विचार र्पुयाए दुखाइ केही हदसम्म कम गर्न सकिन्छ ।
० दैनिक ६–८ गिलास पानी अनिवार्य पिउने ।
० दैनिक सागपात तथा फलफूल खाने ।
० सुर्तीजन्य पदार्थ र मदिरा सेवन नगर्ने ।
० दीर्घकालीन रोगहरू, जस्तैः मधुमेह, उच्च रक्तचापलगायत समस्या छ भने नियमित जाँच गराउने ।
० शारीरिक व्यायाम गर्ने ।
० आँखा जाँच गराइराख्ने ।

र यो पनि जानी राख्नुहोस्

टाउको दुखाइ आँखा, मस्तिष्क, रगतका नसाहरू, रगतको प्रवाहमा हुने अवरोध, रक्तचाप र अन्य अंगका रोगसँग पनि सम्बन्धित हुने भएकाले दक्ष चिकित्सकको सल्लाहमा रोग पहिचान गरी उपचार विधि अपनाउनुपर्छ ।

स्वयंले दुखाइ कम गर्न खोज्ने तथा औषधि प्रयोग गर्ने बानीका कारण धेरै रोग पुरानो भएर समस्या निम्त्याइरहन्छन् । वेलैमा चिकित्सककहाँ जाने र सही उपचार गराउने हो भने जटिल रोग ठीक गराएर जीवनलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!