सुमो दुर्घटनामा पाँचजनाको मृत्यु, सात घाइते



-केशव भट्टराई 

accident logoओएस नेपाल, हेटौँडा, २ माघ । मकवानपुर जिल्लाको भिमफेदी गाविस–८ जुरेखेतस्थित कुलेखानी राजमार्गमा शुक्रबार बेलुकी टाटासुमो दुर्घटनामा एक बालकसहित पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् ।

दुर्घटनामा कैलाली सहनपुर–५ का ३५ वर्षीय डम्बर राउत, चौघडा–६ का ३० वर्षीय निराजन चौलागाईं, छितवान–५ बस्ने ३५ वर्षीय योगेन्द्र घलान र सोही ठाउँ बस्ने आठ वर्षीया प्रतिमा घलानको घटनास्थलमै र छतिवनका २३ वर्षीय सुमन राईको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दीपक थापाले जानकारी दिए ।
यस्तै घाइते हुनेहरुमा मकवानपुरको छतिवन–५ बस्ने २३ वर्षीया बिर्सना घलान, सोही ठाउँ बस्ने १० वर्षीय धावा लामा, ८ वर्षीय छिरिङ लामा, छतिवन–८ बस्ने ३२ वर्षीया ईश्वरी माझी, हेटौँडा–१४ पदमपोखरीका ३० वर्षीय चालक नवराज थिङ घाइते भएका छन् । यस्तै चितवनकी २१ वर्षीया वर्षा रानामगर र मकवानपुर छतिवनकी २४ वर्षीया अञ्जु स्याङतान गम्भीर घाइते भएका छन् । अञ्जुको मेघा अस्पताल, काठमाडौँ र अन्यको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार शुक्रबार बेलुकी सवा ६ बजेको समयमा हेटौडा–कुलेखानी–काठमाडौँ राजमार्गमा काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेको ना१ज ४२७५ नम्बरको सुनौलो तामसालिङनामक टाटासुमो सडकबाट १२५ मिटर तल खसेको थियो ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारको लागि अस्पताल पठाएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टाटासुमोको ओरालोमा ब्रेक नलागेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । ७ घाइतेमध्य जनामध्ये ५ जना घाइते मकवानपुरकै रहेका छन् । पछिल्लो समयमा ट्राफिकले टाटासुमोमा ९ जनामात्र यात्रु राख्न पाउने व्यवस्था गरेको भए पनि उक्त टाटासुमोमा १२ जना यात्रु सवार थिए । ४० दिनअघि हेटौँडा, भीमफेदी, कुलेखानी, सिस्नेरी,दक्षिणकाली सडकको सिस्नेरी लेनडाडामा टाटासुमो दुर्घटना भएर ६ जनाको मृत्यु भएको थियो ।

Comment