प्रादेशिक कानून आयोग गठन गर्ने कर्णाली सरकारको निर्णय



सुर्खेत, ६ जेठः कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक कानून आयोग गठन गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानूनको मस्यौदा तयारीमा सहयोग पु¥याउनका लागि यथाशीघ्र प्रादेशिक कानून आयोग गठन गर्ने निर्णय गरिएको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

त्यस्तै यही जेठ २ गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्कमा दुर्घटनाग्रस्त मकालु एयरको जहाजमा ज्यान गुमाउने चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्ने निर्णय भएको प्रवक्ता केसीले बताउनुभयो ।

बैठकमा चालकद्वयले कर्णाली प्रदेशका लागि पु¥याएको योगदानको कदर गर्न आवश्यक व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

त्यसैगरी लागुऔषध नियन्त्रणसम्बन्धी विधेयक र कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरिएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार विनियोजन विधेयक, २०७५ प्रदेशसभामा पेश गर्नु पूर्वबजेटका सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीति आवश्यक परिमार्जनसहित पूर्वबजेट छलफलका रुपमा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

यस प्रदेशको आर्थिक, सामाजिक विकास मार्गचित्र, २०७५ परिस्कृत गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको नेतृत्वमा सामाजिक विकास मन्त्री दलबहादुर रावल, मुख्यमन्त्री कार्यालयका सचिव र सबै मन्त्रालयका सचिव रहेको समिति निर्माण गरी जिम्मेवारी प्रदान गर्ने निर्णय भएको प्रवक्ता केसीले बताउनुभयो । (रासस)

Comment