जवानीमा गैँडामाथि चढ्ने साहसिक व्यक्ति मल्लु महतो

Posted By OSNepal, California, USA || Date: 24 January, 2015

–केशव भट्टराई
ओएस नेपाल, चितवन, १० माघ । मल्लु महतो बछौलीका एक जीवित इतिहास हुन् । १०४ वर्षीय महतो जीवनको उत्तरार्धमा पनि उत्तिकै फुर्तिला देखिन्छन् । शुक्रबार साँझ सौराहास्थित उनको निवास पुग्दा उनी आँगनमा आगो तापिरहेका थिए । बयोवृद्ध अवस्थामा पनि उनी अझै सामान्य हिँड्डुल गरिरहेका छन् । बोली प्रष्ट छ । कान खासै सुन्दैनन् । आँखाले राम्ररी ठम्याउन सक्दैनन् । एक शताब्दी जीवन व्यतित गरिसकेका उनमा केही परिवर्तन भएको छैन । तर सौराहाले एक दसकमै काँचुली फेरिसकेको छ ।mallau@keshu1
सौराहालाई अब निकुञ्ज छेउको सौराहा भन्न पनि नसुहाउने भएको छ । परम्परागत संस्कृति र मौलिक पहिचान परिवर्तन भइसकेको छ । आधुनिक भवन, सुविधा सम्पन्न होटलहरु र कंक्रिटबस्तीले गर्दा सौराहामा थारु जातिको संस्कृति लोप हुने क्रममा छ । तर मल्लु महतो थारु संस्कृतिको धरोहरका रुपमा रहेका छन् । उनैले परम्परा धानेका छन् ।
नयाँ पुस्तामा थारु संस्कृतिको परम्परा मेटिँदै गएको छ । उनकै छोराहरुमा समेत आधुनिकताले जरो गाडिसकेको छ । पुस्तान्तरण पनि यति विघ्न भइसकेको छ कि सौराहा यही रफ्तारमा जाने हो भने थारु संस्कृति संग्रहालयमा मात्र खोज्नुपर्ने हुन्छ ।
मल्लु महतो थारु जातिको सबैभन्दा बयोवृद्ध व्यक्ति हुन् । दुःखद् पक्ष यो छ कि परम्परा धान्ने उनकोे निवाससमेत आधुनिक बनिसकेको छ । थारु संस्कृति जोगाउन र सौराहालाई पर्यटकीय क्षेत्र स्थापना गर्ने पहिलो अभियन्ता उनी नै हुन् । उनी थारुको पावनीमा फगुवा, झाम्टाजस्ता गीत अझै पनि गाउँछन् । पहिलो स्टिक डान्स गर्ने थारु अगुवा पनि उनी नै हुन् । स्टिक डान्स पर्यटकले धेरै रुचाउँछन् ।
उनले पुरानो पदमपुरको कुटुवा, कचुवानी, बाँसबारी र अमृतेजस्ता गाउँ उठाएर राष्ट्रिय निकुञ्ज बनाउन योगदान दिएका व्यक्ति हुन् । पुरानो पदमपुरको बनकट्टाका जमिन्दारसमेत रहेका उनी सौराहा आएर पर्यटकीय नगरी बनाउन तल्लिन भए । जीवनका धेरै उकालीओराली पार गरे पनि उनी कहिल्यै पद र प्रतिष्ठामा रहेनन् । उनी सौराहाबासीकै अभिभावक हुन् । जुनसुकै सामाजिक काममा लागिपर्ने उनलाई विभिन्न संघसंस्थाहरुले सम्मान गर्दछन् ।
राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्र सौराहा सवारी हुँदा या शिकार खेल्न आउँदा प्रायः पहिला भेट्ने व्यक्ति मल्लु नै हुन्थे । उनले तीनवटा राजालाई स्टिक डान्स देखाएर मनोरञ्जन दिलाएका थिए । राजाको सवारीमा खसी बोका खोज्ने जिम्मा उनैले पाउँथे । उनको साहसिक कार्यहरुप्रति राजाहरुसमेत नतमस्तक बनेको उनी स्मरण गर्छन् । २०३५ सालमा उनको स्टिक डान्स रुचाएर राजा वीरेन्द्रले दुई हजार रूपैयाँ बक्सिस दिएको उनी सुनाउँछन् ।
२५÷३० वर्षको उमेरमा जिमिदारहरुले राखेको पाँच रूपैयाँको बाजी जित्न गैँडामाथि चढेर हिँडेका व्यक्ति हुन् उनी । गैँडाको वरिपरि बस्नसमेत डरलाग्ने अवस्थामा गैँडामाथि चढ्नु भनेको ठूलो जोखिम मोल्नु हो । कहिले शिकार खेल्न निकुञ्जभित्र जाँदा जालमा बाघ पारेको त कहिले जङ्गलमा भालुसँग जुधेको अनुभव पनि उनीसँगै छ ।
उनी भालुसँग जुध्दा गम्भीर घाइते भए । भालुको मुख च्यातेर मुस्किलले बाँचेका थिए । त्यतिबेला डा। मथुरा श्रेष्ठले उनको उपचार गरेको उनका साँहिला छोरा गिरिधारी चौधरी बताउँछन् । जङ्गली जनावरसँग साक्षात्कार गर्दागर्दै उनले शताव्दी पार गरेका हुन् । मल्लुलाई नजिकका नातेदारहरु ‘नपत्याउँदो मान्छे’ का रुपमा चित्रण गर्छन् । यी बयोवृद्धलाई देश राम्रोसँग चलोस्, झैझगडा नहोस्, बन्द हड्ताल हटोस् भन्ने तीव्र इच्छा छ । देशमा चाँडै संविधान बनेको सुन्ने हतार छ । देश विकासको गतिमा अघि बढोस् भन्ने शुभेच्छा छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!