संवादहीनता रोक्दै संविधान निर्माण : मन्त्री आचार्य



ओएस नेपाल, धादिङ, १७ माघ । संविधान निर्माणका विषयमा दलहरुबीच बढ्दै गएको संवादहीनतालाई अन्त्य गर्न विवादित विषयहरुमा छलफल हुनु जरूरी भएको वन मन्त्री महेश आचार्यले बताएका छन् । वषौँदेखि सीमित व्यक्तिको वरिपरि घुम्दै आइरहेको सिंहदरबार केन्द्रित राज्य सत्तालाई गाउँगाउँसम्म पु¥याउन मुलुकमा नयाँ संविधान निर्माण प्रक्रिया अघि बढिरहेकाले दलहरुबीच संवाद र सहकार्य नै अहिलेको निकास भएको मन्त्री आचार्यले बताए ।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलको चाहना र मुख्य एजेण्डा भनेको संघीयताको संस्थागत विकाससँगै प्रादेशिक स्थानीय स्वायत्त सरकार निर्माणका लागि आवश्यक पर्ने संविधान बनाउनु नै भएकाले दलहरु संवादहीनताको अवस्थामा रहन नहुने मन्त्री आचार्यको सुझाव छ ।
धादिङबेसीमा नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संवाद र छलफललाई रोकेर मुलुकले निकास पाउन नसक्ने बताए । संविधान निर्माण प्रक्रियालाई अघि बढाउन संसदमा प्रतिनिधित्व गरेका सबै दलको भूमिका र जिम्मेवारी भए पनि शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने मुख्य दलहरुले अलि बढी जिम्मेवारी बहन गरेर अघि बढ्नुपर्ने उनले बताए ।
पहिचानको मुद्दा अब निर्माण हुने राज्य सत्तामा गरिने प्रतिनिधित्वसँग जोडिएकाले प्रदेशको नाम के राख्ने, सीमाकंन कस्तो हुने, कुन जिल्ला कता पार्ने भन्ने प्राविधिक विषयमा अहिले अल्झन नहुने उनको भनाइ थियो । पहिलो प्राथमिकता संविधान निर्माण भएकाले दलहरु विवादबाट बाहिर निस्कनुपर्नेमा मन्त्री आचार्यले जोड दिए ।

Comment