मुलुक सधैँ आन्दोलनको बन्धक बन्न सक्दैन : अर्थमन्त्री



ttttttttttttttttttttttttttttओएस नेपाल, काठमाडौँ, १९ माघ । अर्थमन्त्री डा रामशरण महतले मुलुकलाई सधैँ  राजनीतिक खिचातानी र आन्दोलनको बन्धक बनाउन नहुने बताए ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन उमाविको ६९ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री डा महतले विश्वजगत् सूचना, प्रविधि र ज्ञानमा आधारित उद्योग र सीपका कारण समृद्धिमा पुगिसके पनि नेपाल सधैँ  सङ्क्रमणकालमा रहेको बताए ।

सोही विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएका मन्त्री महतले भने, “अब हामी मुलुकलाई चाँडो नयाँ संविधान दिएर आर्थिक समृद्धि दिन चाहाँछौ, आन्दोलन र हडतालबाट समाजलाई मुक्त पार्न चाहाँछौ ।”

नेपालीमा उद्यमशीलता, ज्ञान, प्राकृतिक स्रोत साधन र सिर्जनशील क्षमता भए पनि राजनीतिक अस्थिरताका कारण आर्थिक विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उनले शिक्षालाई पनि सिर्जनशील बनाउन शिक्षकहरूको मेहनत आवश्यक हुनेकुरा बताए ।

कार्यक्रममा काठमाडौँका जिल्ला शिक्षा अधिकारी डा बालकृष्ण रञ्जितले राम्रो नजिता दिइरहेका सो विद्यालयलाई सरकारले पूर्वाधारका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाए ।

उच्च मावि शिक्षा परिषद् काठमाडौँ कार्यालयका प्रमुख जङ्गबहादुर अर्यालले सामुदायिक विद्यलयमा त्यहाँ कार्यरत शिक्षकले आफ्नो छोराछोरी सोही विद्यालयमा पढाएमा मात्रै गुणस्तर वृद्धि हुने बताए ।

मन्त्री डा महतले उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कार पनि प्रदान गर्नुपर्ने धारण पनि व्याक्त गरे । रासस

Comment