अस्पताल फर्केनन् चिकित्सक



hospitalओएस नेपाल, (बागलुङ) २२ माघ – स्वास्थ्य मन्त्रालयले दरबन्दी रहेको स्थानमा फर्कन दिएको निर्देशन चिकित्सकले बेवास्ता गरेका छन् ।

धौलागिरि अञ्चल अस्पतालमा दरबन्दी भएका चिकित्सक निर्देशन पाएको डेढ महिनासम्म पनि अस्पताल आएका छैनन् । अस्पतालमा लामो समयसम्म हाजिर नभई सेवा सुविधा उपभोग गरेको गुनासोपछि मन्त्रालयले कायम दरबन्दीमा फर्कन निर्देशन दिएको थियो ।

बागलुङमा रहेको धौलागिरि अञ्चल अस्पतालमा विशेषज्ञसहित २० चिकित्सकको दरबन्दी रहे पनि हाल पाँच जना मात्र कार्यरत छन् ।

दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रभावित हुँदै आएको अस्पतालले जनाएको छ । “दरबन्दी कायम रहेकै अस्पतालमा जान मन्त्रालयले निर्देशन दिए पनि अझै चिकित्सक आएका छैनन्” अस्पतालका अध्यक्ष टीकाराम सापकोटाले भने ।

“दरबन्दी छ, तर चिकित्सक छैनन्, यो बिडम्वना हो” अध्यक्ष सापकोटाले भए– “अञ्चल अस्पतालले आफ्नो स्तरमा सेवा सुविधा दिन सकेको छैन ।” अस्पतालको सेवा, सुविधा र गुणस्तरप्रति सर्वसाधारणको गुनासो पनि बढ्दो छ ।

सरकारी व्यवस्थाअनुसार सो अस्पतालमा थप सात विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त रहेको अध्यक्ष सापकोटाले जानकारी दिए । यहाँ दरबन्दी रहेको अधिकांश विशेषज्ञ चिकित्सक काठमाडौँ, बुटवललगायतका ठूला सहरका अस्पतालमा कार्यरत रहेको बुझिएको छ । कुनै चिकित्सकले त काम अन्तै गर्ने तलब भने यहीबाट बुझ्ने गरेको समेत पाइएको थियो ।

दरबन्दीमै रहेका चिकित्सक लामो समयसम्म विदेश गएर समेत बस्ने गरेका छन् । अहिले अस्पताल विकास समितिले यहाँको दरबन्दी लिई अरु अस्पतालमा बसेका चिकित्सकको तलब तथा अन्य सेवा सुविधा रोक्का गर्ने निर्णय गरेको छ । रासस

Comment