मुस्ताङमा हिमाली आयोजना चालु आवदेखि लागू



mustang-thumbओएस नेपाल ,मुस्ताङ, २७ माघ   –   पशु, कृषि र जडीबुटीको व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यले मुस्ताङमा हिमाली आयोजना लागू भएको छ । एसियाली विकास बैंकको आर्थिक सहयोग र कृषि विकास मन्त्रालयअन्तर्गत पशुसेवा विभागको समन्वयमा चालु आर्थिक वर्षदेखि जिल्लामा यस्तो आयोजना लागू भएको पशुसेवा कार्यालय मुस्ताङका कार्यालय प्रमुख डा नन्दलाल बर्माले जानकारी दिए ।

आयोजनाअन्तर्गत याक, भेडाच्याङ्ग्रा, तरकारी उत्पादन, तरकारी फलफूल प्रशोधन, स्याउ नर्सरी, रेन्बो ट्राउट, डेरी र जडीबुटी उत्पादन र प्रशोधनका लागि किसान, किसान समूह र सहकारीले व्यावसायिक योजनासहित आयोजना सञ्चालनका लागि प्रस्ताव गर्नुपर्छ ।

“यसरी आएको उपयुक्त प्रस्तावलाई स्थलगत निरीक्षण गरेर हामीले कार्यक्रम स्वीकृत गर्छौं, ” कार्यालय प्रमुख वर्माले भने – “कार्यक्रम स्वीकृत भएपछि रु ५० लाखसम्मका योजनामा सरकारलाई ८० प्रतिशत र सोभन्दा माथिलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।” पुँजीको अभावमा व्यावसायिक रुपमा अघि बढ्न नसकेका किसानलाई लक्षित गरी आयोजना सञ्चालन गरिएको हो । आगामी फागुन १७ गतेसम्म किसानले कार्ययोजनासहित प्रस्ताव दर्ता गर्न सकिने पशुसेवा कार्यालयले जनाएको छ ।

“अहिलेसम्म ५६ भन्दा बढी प्रस्ताव आएका छन्, आयोजना निर्धारण गरेको सबै क्षेत्रमा यहाँ ठूलो सम्भावना छ, कार्यालय प्रमुख वर्माले भने – “विभागका प्रतिनिधिसहितको रोहबरमा हामीले किसानको प्रस्ताव छनोट गर्नेछौँ ।” मुस्ताङको उपल्लो क्षेत्रमा याक, भेडा र च्याङ्ग्रा पालनको सम्भावना उच्च छ भने तल्लो क्षेत्रमा तरकारी, फलफूल र स्याउको उत्पादन बढी हुन्छ । जिल्लाको सबै क्षेत्रबाट प्रस्ताव आएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । रासस

Comment