पठाउने ठाउँमा नजाने, मन्त्रालयमा हाजिर गरेर बस्ने कर्मचारीमाथी कारवाही हुने भयो



सरकारले पठाएको ठाउँमा नगएर मन्त्रालयमा हाजर मात्रै गरेर बस्न कुनै पनि कर्मचारीलाई छुट नभएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् । आज विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रालयमा गएर हाजिर गरेर बस्ने छुट कर्मचारीलाई नभएको बताएका हुन् ।

उनले रकारले पठाएको स्थानमा नजाने कर्मचारीलाई कारवाही गरिने चेतावनी पनि दिएका छन् । स्थानीय तहमा प्रशासनिक प्रमुख पठाउने काम पूरा बताउँदै मन्त्री पंडितले अफिसर लेभलका कर्मचारी पनि ७५ प्रतिशत पूरा भएको जानकारी दिए ।

उनका अनुसार अब मात्रै सहायक स्तरका कर्मचारी पठाउन बाँकी रहेको छ । सहायक स्तरका कर्मचारी पनि असार मसान्तभित्र सबै स्थानीय तहमा पठाइदिने जानकारी दिएका छन् ।

हाललाई केन्द्रीय तहबाट कर्मचारी व्यवस्थापन गर्ने बताएका मन्त्री पंडितले अब चाँडैनै प्रादेशिक लोकसेवा आयोगको व्यवस्था गरी प्रादेशिक लोकसेवा मार्फत राष्ट्रिय मापदण्ड अनुसारको राष्ट्रसेवकको नियुक्ति प्रकृया अगाडी बढाइने दाबी गरेका छन् ।

उनले असार मसान्तसम्म सबै स्थानीय तहले कर्मचारी पाउने दावी समेत गरेका छन् । करारमा कर्मचारी नियुक्ति गर्नेक्रममा जनप्रतिनिधिका आफ्ना मान्छेलाई भर्ती गर्न नपाउने चेतावनी दिएका छन् ।

उनले आफ्नै छोरी, भाइ, जेठान भएको पाइएकाले तत्काललाई स्थानीय तहमा कर्मचारी नियुक्ति बन्द गरिएको मन्त्री पंडितले जानकारी समेत दिएका छन् ।

Comment