भ्यालेन्टाइनमा प्रेमपत्र लेखनको उपाधि एन्जिलालाई



ओएस नेपाल, चितवन, ३ फागुन । चितवनको सौराहामा आयोजना भएको फुड फेष्टिबल र शनिबार परेको भ्यालेन्टाइनको दिन सौराहा विदेशी तथा स्वदेशी पर्यटकले भरियो ।
सौराहामा अधिकांश आन्तरिक पर्यटकले भरिएको संयोजक श्रीलाल परियारले बताए । उनका अनुसार सौराहामा अन्य दिनभन्दा शनिबारको रौनक उत्कृष्ट भएको थियो । करिव २५ सय मानिस बस्न मिल्ने सौराहाका होटलहरु भरिएको रेवान सौराहाका अध्यक्ष सीताराम कुमालले बताए ।
फुड फेष्टिबलमा शनिवार प्रेमपत्र लेखन प्रतियोगिता मुख्य आकर्षण रहेको थियो । प्रणय दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमले प्रेम जोडीलाई रोमाञ्चित बनाएको थियो । उक्त प्रतियोगितामा ११ जना सहभागी थिए । सहभागीलाई उछिन्दै सौराहाकी एन्जिला चापागाईंले उपाधि जितेकी थिइन् । उनले साहित्यमा रूची भएकाले वास्तविक जीवनमा प्रेमपत्र नलेखे पनि प्रतियोगितामा सहभागी भएको बताइन् ।
निर्णायक रहेका चर्चित साहित्यकार धनराज गिरीले उनको प्रेमपत्रमा राम्रो भाषा र भावपूर्ण शैली हुनुपर्ने बताए । प्रतियोगिताकी विजेता एन्जीलालाई टिफिन हाउसले ३ हजार पुरस्कार दिएको थियो । शनिबार नै भएको डोरी तान्ने प्रतियोगितामा सौराहा जेसीजले उपाधी जितेको महोत्सव पुर्वसंयोजक राजन भट्टले बताए ।
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन ९रेवान० सौराहाको आयोजनामा भएको फुड फेष्टिवलमा शनिवार गायक शिव परियार , पशुपति शर्मा , शान्ती श्री परियार , रमेशराज भट्टराईको प्रस्तुतीमा दर्शक झुमेका थिए । आज एकैदिन २५ हजार बढी दर्शकले महोत्सव हेरेको आयोजकले बताएको छ । महोत्सवको आम्दानी सौराहाको सरसफाई र बालश्रम न्युनिकरणमा खर्च गरिने प्रचार संयोजक राजकुमार श्रेष्ठले बताए ।

Comment