बेसहारा गाई पाल्न सुविधा सम्पन्न गौधाम



gaudhamओएस नेपाल, धादिङ, ४ फागुन । अनाथ बालबालिकालाई लक्षित गरेर देशका विभिन्न स्थानमा बालगृह सञ्चालन भएका छन् । त्यसैगरी बूढेशकालमा छोराछोरी वा आफन्तको सहारा नपाएका वृद्धवृद्धाका लागि वृद्धाश्रमहरु खुल्ने गरेका छन् । अनाथ बालबलिका र असहाय बृद्धबृद्धालाई जस्तै स्याहार गर्न धादिङको नौबीसेस्थित धार्केनजिकै बेसहारा गाईवस्तुका लागि गौधाम् अर्थात् गाई वृद्धाश्रम सञ्चालनमा ल्याइएको छ ।
मारवाडी सेवा समितिबाट दुईवटा सुविधा सम्पन्न घर निर्माण गरी गौधाम संचालनमा ल्याएको हो । विसं २०६८ सालबाट निर्माण सुरु भएको १५० क्षमताको गौधाममा अहिले ६० वटा गाई राखिएको छ । गौधामका सुपरिटेन्डेट जयन्त सुब्बाका अनुसार पशुपति गौशालास्थित धर्मशालाबाट निकालिएका बृद्ध गाईको संरक्षणका लागि धार्केमा सुविधा सम्पन्न गौधाम संचालनमा ल्याइएको हो । गाई बृद्धाश्रम निर्माणका लागि राजेन्द्र खेतान, प्रदीप गोयललगायतका मारवाडी समुदायका व्यवसायीहरुबाट पहल भएको हो ।
पृथ्वीराजमार्गबाट आधा किलोमिटर दक्षिणतर्फ भित्र रहेको सुविधा सम्पन्न धार्केको गौधाम ६३ रोपनी जमिनमा रहेको छ । गाईको स्याहारसँगै यस क्षेत्रमा गाईगोरुको उपचारका लागि सुविधा सम्पन्न भेटनरी अस्पताल स्थानीयको सेवाका लागि सामुदायिक अस्पताल, निम्न आयस्तर भएका अभिभावकका छोराछोरी पढ्ने विद्यालयको समेत स्थापना गर्ने लक्ष्यका साथ मारवाडी सेवा समितिले योजना बनाइरहेको र अहिलेसम्म १३ करोडको लगानी गरिसकेको पनि सुव्वाले बताए ।
गौधामको स्थापनाबाट काठमाडौँको सडकमा अलपत्र पर्दै आइरहेका गाईको संरक्षण हुनुका साथै जैविक विविधतासमेत सुरक्षा हुने संचालकहरुको भनाइ छ । राजधानीको गौशाला क्षेत्रमा बूढा भएका गाई छाडा लगाउने प्रवृत्ति बढ्दै जाँदा यसबाट सवारी दुर्घटना बढ्नुका साथै सडकमा छाडिएका गाईमा विभिन्न किसिमका रोग देखा पर्न थालेपछि राजधानी बाहिर गौधामको निर्माण गरी अलपत्र गाईको स्याहार गर्न थालिएको मारवाडी सेवा समितिले जनाएको छ ।
गौधाममा रहेका गाई स्याहारका लागि स्थानीय व्यक्तिहरुले रोजगारीसमेत पाएका छन् । गाईको नियमित रुपमा स्वासथ्य जाँचसमेत हुने गरेको छ । गौधाममा रहेका गाईबाट उत्पादित मललाई गौधामभित्र सुरू गरिएको अर्गानिक तरकारी खेतीका लागि प्रयोग गर्ने गरिएको र प्रयोग गरेर बढी भएको मल गौधामको आयआर्जनका लागि किसानलाई बिक्री गर्दै जाने लक्ष्य रहेको पनि गौधामका कर्मचारी रामकृष्ण रेग्मीले जानकारी दिए । दुई तले भवनको दुवै तलामा गाईहरु राखिएका छन् । माथिल्लो तलामा जानका लागि बाहिरबाट सिधै कोठामा जोड्ने बाटो बनाइएको छ ।

Comment