मिथिलाको कुम्भआज बाट सुरु



ram-janaki-mandirओएस नेपाल ,(जनकपुरधाम) ६ फागुन    –  मिथिलाको कुम्भको रुपमा ख्याति प्राप्त १५ दिने मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ ।
शताब्दीयौँदेखि पवित्र भूमिको परिक्रमा गर्ने चलनअनुरुप जनकपुरधामको परिक्रमा गर्ने श्रद्धाअनुसार मध्यमा परिक्रमाको परिकल्पना गरिएको हो ।

परिक्रमा कहिलेदेखि सुरु भयो यसका बारेमा कुनै लिखित आधार नभए पनि यसको महत्वका बारेमा मिथिला महात्म्य नामक ग्रन्थमा व्यापक रुपले चर्चा गरिएको छ ।विद्वान्हरुले मिथिला महात्म्यलाई १८औँ शताब्दीको ग्रन्थ मानेका छन् । यसले गर्दा यसको प्रारम्भ १८औँ शताब्दी पूर्व नै भइसकेको अनुमान गरिन्छ ।

प्राचीनकालमा पाँच दिनको परिक्रमा गर्ने चलन रहेकामा विसं १९६४ मा यसलाई १५ दिने परिक्रमाकोरुपम परिणत गरिएको देखिन्छ ।पन्ध्र दिने परिक्रमाअन्तर्गत कल्याणेश्वर, गिरिजास्थान, क्षिरेश्वर, धनुषाधाम र फेरि कल्याणेश्वर पुगी अन्त हुने गरेकामा १५ दिने परिक्रमाअन्तर्गत हनुमानगढी, कल्याणेश्वर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वर, धनुषाधाम, सतोषर, औरही हरुसाहा र विसौल रहेका छन् ।फागुन अमावश्याका दिन धनुषाको कचुरी मठबाट परिक्रमाको मूल डोला सञ्चालन गर्ने परम्परा रहेको छ । सो डोलामा राम सीताका मूर्ति सजाएर राखिएका हुन्छन् । जसले सम्पूर्ण परिक्रमा पथको नेतृत्व गर्दछ ।

परिक्रमामा सहभागी भएमा दुःख कष्टबाट मुक्ति हुने विश्वास रहेका कारण परिक्रमामा लाखौँ श्रद्धालुको सहभागिता रहने गरेको छ । रासस

Comment