महिलाहरुको पाठेघर फालेपछि झनै समस्या



ओएस नेपाल, चितवन, १० फागुन । महिलाहरुको पाठेघर फालेपछि झन समस्या आउने डाक्टरले बताएका छन् । यस्ता समस्या हुँदैमा फाल्नुपर्छ भन्ने मानसिकता धेरै महिलाहरुमा रहेकाले सकेसम्म पाठेघर सकेसम्म फाल्न नहुने भरतपुर सरकारी अस्पतालका स्त्री रोग विभाग प्रमुख एवम् स्त्रीरोग विषेशज्ञ डा सुनिलमणि पोखरेल बताउँछन् ।

सकेसम्म पाठेघर फाल्नु हुँदैन डा पोखरेल भन्छन्, अन्तिम अवस्थामा पुगेपछिमात्रै फाल्नुपर्छ, यो कुरा महिलाहरुले बुझ्नुपर्छ । पाठेघर फालेपछि हर्मोनको कमी भई शक्तिमा गिरावट आउने, पसिना बढी आउने, पिसाव फेर्न गाह्रो हुनेलगायतका समस्या आई पीडित जीवन बिताउनुपर्ने डा पोखरेलले बताए । पाठेघर फालिसकेपछि महिलाले पीडित जीवन बिताउनु पर्ने भएकाले यो महापाप गर्नुसरह हुने उनको भनाइ छ । सामान्य घाउ भएमा पनि पाठेघर फाल्नु हुँदैन डा पोखरेलले भने, पाठेघरमा ठूलो ट्युमर छ, क्यान्सर लागेको छ भनेमात्र फाल्नुपर्छ सामान्य छ भने आत्तिनु पर्दैन ।

पाठेघरको समस्या भएका महिलाहरुले प्रत्येक वर्ष फलोअप चेकजाँच गर्नुपर्ने डाक्टरको सुझाव छ । डा पोखरेलका अनुसार पछिल्लो समय पाठेघरको समस्या भएका महिलाहरु परीक्षणका लागि आउनेको संख्या बढ्दै गएको छ । भरतपुर सरकारी अस्पतालमा जचाँउन आएका महिलाहरुमध्ये प्रत्येक दिन दुई तीन जनाको अप्रेसन गर्नुपर्ने अवस्था रहने गरेको डाक्टर पोखरेलले जानकारी दिए । सहरका महिलामा भन्दा ग्रामीण क्षेत्रमा महिलामा यो रोगको समस्या बढी पाइएको पोखरेलको भनाइ छ ।

ग्रामीण भेगमा महिलाले बढी बच्चा जन्माउने, घरमै बच्चा जन्माउनु, सुत्केरी भएपछि कम्तीमा तीन महिलासम्म गाह्रो काम गर्न नहुने भए पनि काममा लाग्नु, पोसिलो खानेकुरा पर्याप्त नखाँदा पाठेघरको समस्या हुने स्त्री रोग विषेशज्ञहरु बताउँछन् । विवाहित र ४० वर्ष उमेर नाघेका महिलाहरुसहित अविवाहितहरुमा पनि यस्तो समस्या देखिने गरेको स्त्री रोग विषेशज्ञ डाक्टर सुनिलमणि पोखरेलले बताए ।

अविवाहिता महिलामा महिनावारी समयमा नहुनु, लामो समयसम्म रगत बगिरहनुलगायतका समस्या देखिएका छन् भने विवाहितामा बच्चा नहुने समस्या, ट्युमर पलाउने, पेट दुखिरहने, बढी रगत बग्ने समस्या रहेको पोखरेलले बताए । डाक्टर पोखरेलका अनुसार बाँझोपनको समस्या १० प्रतिशत, ट्युमर ३५ देखि ४० प्रतिशत, पाठेघरको मुखको क्यान्सर १ देखि ३ प्रतिशत, आङ खस्ने ६ प्रतिशत समस्या महिलामा रहेको छ ।

Comment