महोत्तरीमा ट्र्याक्टर पल्टिँदा हलखोरीका कामदार साहको मृत्यु



tractorओएस नेपाल, गौशाला, ११ फागुन – महोत्तरी जिल्लाको बर्दिवास—जलेश्वर सडकखण्डमा ट्र्याक्टर पल्टिँदा एक कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको हलखोरी–९ बस्ने ३० वर्षीय सुकदार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाको रातु खोलाबाट बालुवा लिएर आइरहेको ज १ त ४६१८ नम्बरको ट्र्याक्टरमा काम गर्दै आएका सुकदार साहको गोनरपुरा–२ स्थित बाटोको छेउमा ट्र्याक्टर पल्टिँदा बालुवाभित्र च्यापिएर सोही बालुवाभित्र निस्सासिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

शनिबार बिहान ३ बजेको समयमा भएको दुर्घटना पश्चात् ट्र्याक्टरका चालक फरार भएपछि कामदार बालुवाभित्र च्यापिएको कुरा कसैलाई थाहा भएको थिएन ।

गएराति कामदार साहको घर र गाउँमा खोजबिन भएपछि उनको बालुवाभित्र च्यापिएर मृत्यु भएको कुरा खुलेपछि घटनास्थलमा पुगेर प्रहरीले आज बिहान उनको शव बालुवाभित्रबाट निकालेको हो ।

मृतक साहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको छ भने प्रहरीले फरार रहेका ट्र्याक्टर चालकको खोजतलास गरिरहेको जनाएको छ । रासस

Comment