‘सीडीयो साप ! ट्राफिक प्रहरीको ज्यादती रोक्नुस्’



ओएस नेपाल, चितवन, १२ फागुन । चितवनमा ट्राफिक प्रहरीले सर्वसाधारण तथा यातायात व्यवसायीहरुलाई अनावश्यक दुःख दिएपछि यतिबेला ट्राफिकको ज्यादती छताछुल्ल भएको छ । दुई महिनाअघि भरतपुर लंकू धर्मचोकका रामप्रसाद गैरे बिरामी श्रीमतीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा प्रहरी जाँचमा परे । एउटै मोटरसाइकलमा तीनजना चढेको भन्दै ट्राफिक प्रहरीले एक हजार रूपैयाँ जरिबाना काट्यो । जरिबानाले मात्र पुगेन, पछि डिउटीमा खटिएका ट्राफिक प्रहरीले थप पाँच सय रूपैयाँको रिचार्ज कार्ड किनाएरै छाडे ।

trafficगैरे भन्छन्, ‘अस्पताल जान आएको भनेर बिरामी देखाउँदा पनि जरिबाना त काटियो । पछि मोबाइलको रिचार्ज कार्डसमेत खोजियो । रिचार्ज कार्ड नकिनेसम्म मेरो लाइसेन्स ट्राफिकले दिएन ।’
ट्राफिकको अनावश्यक दुःखलाई सहन नसकी गैरले आइतबार प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेलाई ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भनेर मौखिक उजुरी नै दिएका छन् ।
उनीसँगै रहेका चितवनका यातायात व्यवसायीहरुले प्रजिअ विकेलाई अहिले ट्राफिक प्रहरीलेबाट धेरै दुःख दिने काम भएको बताए । व्यवसायीलाई अनावश्यक झन्झट दिएको, सहजै सवारी साधन सञ्चालन गर्न नदिएको भन्दै व्यवसायीहरुले प्रजिअ विकेलाई लिखित उजुरी नै दिएका छन् ।

‘सीडीयो साप ! सार्वजनिक सवारी साधन सडकमा चलाउन सक्ने या नसक्ने अब तपाईं भन्नूस्’, छहारी यातायात व्यवसायी संघका अध्यक्ष बद्री पौडेलले ट्राफिक प्रहरीबाट पाइएको झन्झटका उदाहरण दिँदै भने, ‘प्रजिअज्यू सडकमा ट्राफिक प्रहरीको ज्यादती रोक्नुस्, होइन भने हाम्रा गाडीका साँचो तपार्इं लिनूस् ।’ व्यवसायीहरुले सडकमा ट्राफिकले जबर्जस्ती जरिबाना असुली गरेको आरोप पनि लगाए । चित्रवन टेक्सी व्यवसायी संघ चितवनका अध्यक्ष खड्गबहादुर गुरूङले ट्राफिक प्रहरीकै कारण सडकमा सवारी साधन चलाउन नसक्ने अवस्था आएको बताए ।

‘व्यवसायीले कहिलेसम्म सहने ?’, उनले प्रजिअ विकेसँग प्रश्न गर्दै भने, ‘कि हामीलाई सडकमा गाडी नचलाउन भन्नूस्, होइन भने सडकमा सहज रुपमा गाडी चलाउन सक्ने अवस्था बनाउनूस् ।’ नेपाल यातायात व्यवसायी महासंघका नारायणी अञ्चल संयोजक कपिल पाण्डेको नेतृत्वमा रहेको चितवनका यातायात व्यवसायीहरुको टोलीले आइतबार नै जिल्ला प्रहरी कार्यालयका अधिकारीलाई पनि भेटेर ट्राफिक प्रहरीबाट भए गरेका गतिविधि छताछुल्ल नै पारे ।

प्रजिअ विकेसमक्ष व्यवसायीहरुले ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको, जरिबाना धेरै लिएको, गल्ती नगर्दा पनि कारबाही गरेको, जरिबाना लिएर पनि दिनभर गाडी प्रहरी कार्यालयमा लगेर राखेकोजस्ता आरोप लगाए । व्यवसायीहरुको गुनासो सुनेका चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले घटनाका बारेमा ट्राफिक प्रहरीसँग बुझ्ने प्रतिकृया दिए । ‘समस्या भए छलफल गरेर समाधान गरौला ’, उनले व्यवसायीलाई सहानुभूति दिँदै भने ।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख रमेशराज भेटवाल व्यवसायीहरुको आरोप झुट भएको बताए । ‘मादक पदार्थ सेवन गरेर गाडी हाँक्न पाउनुपर्छ, जथाभावी गाडी चलाउन पाउनुपर्छ । ट्राफिक नियम पालना गर्नुपर्दैन भन्ने व्यवसायीहरुको माग हो भने यसमा मेरो भन्नु केही छैन’, ट्राफिक प्रहरी प्रमुख भेटवालले भने, ‘हामी सरकारको नीति र नियम एवम् कानुन पालना गर्ने हो । चितवनको ट्राफिक प्रहरी कानुनभन्दा बाहिर गएको छैन ।

व्यवसायीहरुले ट्राफिक प्रहरीमाथि अनावश्यक आरोप लगाएको दाबी गर्दै उनले भने, ‘मनपरी गर्न पाइएन भनेर जथाभावी बोल्न मिल्छ ?‘ट्राफिक प्रहरीले अहिले ट्राफिक नियम उल्लंघन गर्ने उपर कारबाही गरेर दुई सयदेखि एक हजार रूपैयाँसम्म जरिबाना गरेको छ’ उनले भने, ‘यो जरिबाना सरकारले तोकेको रकम हो । ट्राफिक प्रहरीले होइन ।’

Comment