चितवनमा लक्ष्यभन्दा बढी राजश्व संकलन



ओएस नेपाल, चितवन, १३ फागुन । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको माघसम्म निर्धारण गरेको लक्ष्यभन्दा धेरै पाँच अर्ब छ करोड पाँच लाख रूपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले यस अवधिमा चार अर्ब ९३ करोड ७६ लाख रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य बनाएको थियो । तर लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख टीकाराम भुषालले बताए ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा कार्यालयले चार अर्ब १३ करोड रूपैयाँ राजश्व असुली गरेको थियो । अघिल्लो वर्ष यो अवधिको लक्ष्य पूरा गर्न केही कमी भएको थियो । यो वर्ष लक्ष्यभन्दा बढी राजश्व संकलन भएकाले अधिकारीहरु उत्साहित छन् । देशमा रहेका २२ आन्तरिक राजश्व कार्यालयमध्ये गत वर्ष भरतपुरको कार्यालय उत्कृष्ट दुईमा परेको थियो । ‘माघसम्मको राजश्व संकलनमा लक्ष्यभन्दा केही कम भए पनि कूल वार्षिक राजश्व संकलन गत वर्ष पनि लक्ष्यभन्दा बढी नै थियो’ कार्यालय प्रमुख भुषालले भने । अघिल्लो आर्थिक वर्षमा कार्यालयले कुल आठ अर्ब २६ करोड रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर लक्ष्यभन्दा १४ करोड बढी कुल आठ अरब ४० करोड १७ लाख रूपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख भुषालले जानकारी दिए ।

यो आर्थिक वर्षमा कार्यालयले कुल नौ अरब ८९ करोड रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । माघसम्मको कर संकलन अवस्था हेर्दा लक्ष्य अनुरुप संकलन हुनेमा विश्वस्त भएको प्रमुख भुषालले बताए । कार्यालयले चितवनका साथै नवलपरासी जिल्लाको दाउन्ने पूर्वका उद्योग प्रतिष्ठान र करदाताहरुबाट कर संकलनमा अन्तःशुल्कबाट उठ्ने राजश्वको मात्रा झण्डै ८५ प्रतिशत हुने गरेको छ ।

मुख्य रुपमा चुरोट, मदिरा, वियर, सुर्तीलगायतका वस्तुको उत्पादनमा अन्तःशुल्क लाग्छ । अन्तःशुल्क लाग्ने चुरोट, मदिरा बेच्न पनि राजश्व कार्यालयबाट इजाजत पत्र लिनु पर्ने हुन्छ । मानव स्वास्थ्यलाई प्रतिकूल असर पर्ने खालका उत्पादनहरुले राजश्वमा ठूलो स्थान ओगटेका छन् । यसबाहेक पनि चाउचाउ, कोला उद्योग, प्लाष्टिकका सामान, फलफूलका रस, मार्बल, ग्रेनाइड, सुगन्धित सुपारी, फलामे रड, जंक फुडमा पनि अन्तःशुल्क लाग्ने गर्छ । अन्तःशुल्क तिर्ने २५ सयभन्दा धेरै करदाता छन् । तर चुरोट, मदिरा र वियरका नौ उद्योग तिर्ने अन्तःशुल्कले धेरै हिस्सा ओगटेको छ । गत वर्ष सात अर्ब अन्तःशुल्कमध्ये नौवटा उद्योगहरुबाट उठ्ने राजश्व मात्रै छ अर्ब, ५३ करोड ११ लाख ७८ हजार रूपैयाँ रहेको थियो ।

नौवटा उद्योगमा नवलपरासीको चौधरी उद्योग ग्राममा रहेको पर्फेक्ट ब्लेन्ट नामको चुरोट उद्योग, सोही ठाउँको सनगोल्ड ब्रुअरी, नवलपरासीकै गोरखा ब्रुअरी र सुमि डिस्टिलरी तथा भरतपुरको एभरेष्ट बियर रहेका छन् । गोरखा ब्रुअरी एक्लैले तिर्ने राजश्वको हिस्सा कुल संकलित राजश्वको ४२ प्रतिशत थियो ।

Comment