२२ महिनाअघि अमेरिका जान भनी हिँडेका २ नेपाल फर्किए, यस्तो छ उनीहरुको कहालीलाग्दो यात्रा



काठमाडौं : बिबिन्द्रप्रसाद श्रेष्ठको बाग्लुङ बजारको फेन्सी पसल राम्रै चलिरहेको थियो । ६ वर्ष कोरियामा काम गरेर आएका उनका १९ र ९ वर्षका दुई छोराको पढाइ पनि राम्रै थियो ।उनको मनमा भने नयाँ सपना चलिरहेको थियो– अमेरिका जाने । यो सपनाले हुरीको प्वाँखझैं उडाएर एक दिन नाइजेरिया पुर्‍याउला भन्ने उनलाई पत्तो थिएन ।

अमेरिका जाने सपनाको बीउ रोपिदिएका थिए, आफन्त पर्ने राजु श्रीशले । उनी पसलमा आएर अमेरिकाका गफ लगाउँथे । बिबिन्द्रलाई लोभ्याउँथे ।बिबिन्द्रसँगै जगन थापा मगर पनि लोभमा परे । बिबिन्द्रले १६ र जगनले २० लाख रुपैयाँ बुझाएपछि २०७३ भदौ १६ गते दुई जना अमेरिकाका लागि रवाना भए ।

राजुले अमेरिका पुर्‍याइदिने भन्दै विभिन्न मानिससँग सम्पर्क गराइदिएका थिए । उनले रुट पनि बताएका थिए– मेक्सिको हुँदै अमेरिका । २५ वर्षीय जगनको यो पहिलो विदेश यात्रा थियो ।राजुकै सल्लाहमा उनीहरू दिल्ली पुगे । दिइएको ठेगानामा पुगेर एक हप्ता बस्दा सिन्धुपाल्चोकका शेर्पा थरका अर्का व्यक्ति भेटिए ।

‘हामी कहाँ बसेको ? कसकोमा हो ? शेर्पा को हुन् भन्ने पनि थाहा थिएन,’ श्रेष्ठले भने । उनीहरूसँग नेपाली दूतावासको नो अब्जेक्सन लेटर नभएकाले दिल्लीबाट उड्न पाएनन् । यो खबर आजको ‘कान्तिपुर’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।राजुले तीनै जनालाई सिलगुडी जान भने । २५ घण्टाको बसयात्राबाट सिलिगुडी पुगेपछि फेरि क्षेत्रीय विमानस्थल रहेको बागडोगरा पुगे । यहाँबाट काठमाडौं, पारो (भुटान) र बैंकक (थाइल्यान्ड) को उडान हुन्छ ।

उनीहरूलाई बैंकक उडाउने राजुको योजना पनि सफल भएन । त्यसपछि टोली काँकडभिट्टा पुग्यो । त्यहाँ १० दिन बसेपछि कोलकाता । कोलकाता ४ दिन बसेपछि मोबाइलमा बैंककको एयर टिकट आइपुग्यो, राजुले पठाएको । उनी काठमाडौं बसेर फोनकै भरमा काम गर्थे ।

साथमा १५ सय डलर लिएर असोज दोस्रो साता उनीहरू बैंकक पुगे । एउटा अपार्टमेन्टमा एक महिना बसे । तर, बैंककबाट मेक्सिको पठाउने योजना सफल नभएपछि यात्रामा अर्को मोड आयो ।

यही मोडले पुर्‍यायो नाइजेरिया । कात्तिक दोस्रो साता नाइजेरियाको राजधानीस्थित मुर्तला मुहम्मिद अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बिबिन्द्रको मनमा चिसो पस्यो । ‘अमेरिका जान हिँडेको, यहाँ त सबैतिर काला मात्रै थिए,’ उनले भने ।

उनीहरूलाई लिन एक जना स्थानीय आए । उनलाई म्यानेजर भनेर सम्बोधन गर्थे । विमास्थलबाट उनीहरूलाई इकोरोडु लगियो । यो राजधानी लागोसको दक्षिण पूर्वी सहर हो ।

‘इकोरोडुको पनि भित्री गाउँमा लगेर राख्यो । छिर्न एउटा गेट थियो, निस्किन अर्को । दुवैमा प्रहरीहरू सेन्ट्री बस्थे,’ जगनले भने । उनीहरूलाई म्यानेजरबारे पनि खासै जानकारी थिएन । पासपोर्ट उसैले लियो ।

‘अमेरिका जाने भन्दै आउनेहरूलाई नाइजेरियाकै अलग–अलग ठाउँमा राखिएको हुँदोरहेछ,’ बिबिन्द्रले अलि पछि थाहा पाए, ‘धेरै मान्छेसँग भेट नहोस् भनेर सहरबाट टाढा राख्दारहेछन् ।’ बस्ने एउटा कोठा थियो । त्यहीँ नै मिलेर खाना बनाउँथे । म्यानेजर साता दिन बिराएर भेट्न आउँथ्यो । सधैं एउटै खबर ल्याउँथ्यो, ‘अर्को साता तिमीहरू मेक्सिको उड्छौ, चिन्ता नगर ।’

उनीहरूलाई म्यानेजरका यी दुई वाक्य नै सहारा थिए । ‘कि हामी नेपाल फर्किनुपथ्र्यो कि अमेरिका जाने दिन पर्खनुपथ्र्यो,’ जगनले भने, ‘उसको भर पर्नुको विकल्प थिएन । हामी आफंै ऊसँग मजाले कुरा गर्न सक्ने हैसियतमा पनि थिएनौं ।’

अब एकनास बन्दीको जस्तो जीवन चल्न थाल्यो । ‘हामीलाई मुख्य तीन डर थियो,’ जगनले भने, ‘लुटपाटमा परिएला, प्रहरीले समाउला वा मलेरिया लाग्ला भन्ने ।’ कोठाबाटै ननिस्किएपछि उनीहरू अघिल्ला दुई जोखिमबाट त जोगिए ।

तर, तेस्रोले समाइहाल्यो । जगनलाई ५ पटक र बिबिन्द्रलाई दुईपटक अस्पताल लैजानुपर्‍यो । अस्पताल गएपछि प्रहरीले पनि थाहा पायो । जगन दुईपटक कोठाबाटै पक्राउ परे ।

तर, केही डलर बुझाएपछि छाडिदियो । आफूसँग लगेका सुट पनि नाइजेरियन प्रहरीलाई ‘नजराना’ दिए ।

कुर्दाकुर्दै एक वर्ष बित्यो । त्यसपछिको साता म्यानेजरले फरक सन्देश ल्याए– मेक्सिको जान थप १५ हजार डलर व्यवस्था गर्नुपर्ने ।

‘त्यो पैसा आफैंले बोकेर जाने हो भन्यो,’ बिबिन्द्रले सम्झिए ।

शेर्पा पनि सँगै थिए । पैसा बुझाउन नसकेपछि उनलाई छिमेकी देश टोगो पठाइयो । बिबिन्द्र र जगनका परिवारले भने राजुको माध्यमबाट म्यानेजरलाई पैसा पुर्‍याउने व्यवस्था मिलाए ।

‘पैसा त दियौं तर नाइजेरिया काट्न सकेनौं । बरु टोगो पुगेका शेर्पा ब्राजिल हुँदै मेक्सिको छिरे । त्यहाँबाट अमेरिका पुगेको खबर आयो,’ जगनले सुनाए । अब भने उनीहरूलाई अमेरिका पुगिन्न भन्ने लाग्न थाल्यो । ‘हाम्रो कोठामा अरू ४ नेपाली थपिए । उनीहरूलाई पनि बेनिन भन्ने देश पठाएका थिए,’ जगनले भने ।

पैसा हात पारेपछि म्यानेजरले सम्पर्क पातलो बनाउँदै लग्यो । ‘हामी मात्र होइन, परिवार पनि उत्तिकै तनावमा थियो । टाउकोमा ३५ लाखको ऋण थुप्रियो, हामी भने नाइजेरियामा मलेरियासँग लडेर बसिरहेका छौं,’ बिबिन्द्रले भने । त्यसपछि परिवारले पनि नेपालै फर्किन दबाब दिन थाल्यो ।

Comment