निर्जीव ढुङ्गामा जीवन्त मूर्ति कुँद्छन् मूर्तिकार



ओएस नेपाल, चितवन, १५ फागुन । रानीपोखरीको डिलमा यतिखेर २१ जना मूर्तिकारहरु निकै मिहिनतका साथ ढुङ्गामा मूर्ति कुँदिरहेका छन् । पोखरीको डिलमा राखिएका ठूला ढुङ्गामा उनीहरु जीवन्तता भर्न व्यस्त छन् । नयाँ पर्यटकीय गन्तव्यको रुपमा पहिचान बनाएको चित्रवन नगरपालिकास्थित किरणगञ्जमा रहेको रानी पोखरी क्षेत्र अहिले निकै रमाइलो देख्न सकिन्छ ।

ईलाम, कास्की, रौतहट, मकवानपुर, चितवन, रुपन्देही, गुल्मी, नवलपरासी, काठमाडौँलगायतका जिल्लाबाट दुई महिलासहित २१ जना मूर्तिकार रानीपोखरीको डिलमा बसेर आफ्नो कला प्रस्तुत गरिरहेका छन् । उनीहरुको कला प्रत्यक्ष रुपमा स्थलमै गई अवलोकन गर्न सकिन्छ । करिव ३७ लाखको लागतमा तयार हुने मूर्तिलाई रानीपोखरीको छेउछाउमा सजाएर राख्ने तयारीमा संरक्षण समिति लागिपरेको छ । पोखरी परिसरमा २५ वटा मूर्तिहरु तयार हुनेछन् । मूर्ति बनाउनका लागि जुगेडीबाट आवश्यक डुङ्गा लगिएको प्रचारप्रसार समितिका संयोजक सोम भण्डारीले बताए ।

चितवन पार्वतीपुरकी ईन्दिरा श्रेष्ठ देशभरबाट जम्मा भएका मूर्तिकारहरुमध्ये एक हुन् । उनी एउटा ढुङ्गालाई हाँसको रुप दिँदै थिइन् । मूर्तिकार श्रेष्ठले भनिन्, ‘ढुङ्गाको आकारअनुसार म हाँसको चित्र कुँदिरहेको छु ।’ गोलाप्रथाबाट यस्तो आकृतिको ढुङ्गा आफ्नो भागमा परेको बताउँदै उनले यस ढुङ्गामा हाँसको आकृति दिँदा न्याय हुने प्रतिक्रिया दिइन् । ललितकला क्याम्पसमा फाइन आर्टस्मा स्नातक पढेकी उनले मूर्तिकलासम्बन्धी थप ज्ञान भने जर्मन गएर लिएकी रहिछन् । रुचिको विषय भएकाले मूर्तिकला क्षेत्रमा आफू रमाइरहेको उनले बताइन् । उनले अहिले काठमाडौँकै एक विद्यालयमा कला विषय पढाउँछिन् ।

करिव ४ बिघा क्षेत्रफलमा पोखरी रहेको छ । फागुन ६ गतेबाट सुरू भई आगामी २० गते सकिने आयोजकले जनाएको छ । यस क्षेत्रका साथै मूर्तिकलाको पनि विकास र प्रचार हुने भएकाले कार्यशाला शारदानगरमा आयोजना गरिएको नेपाल ललितकाला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् कार्यशालाका संयोजक लालकाजी लामाले बताए । यस क्षेत्रलाई मूर्तिको खुल्ला संग्रहालय बनाइने तयारी भएको रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङले बताए ।पर्यटकीय स्थल बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र रानीपोखरी संरक्षण समितिको संयुक्त आयोजनामा प्रस्तर मूर्ति रचना कार्यशाला आयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।

ईन्दिरा जस्तै मकवानपुरका बाबुलाल वाइवा एउटा ठूलो ढुङ्गामा नारी स्वरुप झल्कने मूर्ति कुँदिरहेका छन् । जीवनको ३१ वर्षमा रहेका वाइवा मूर्तिकला आफ्नो स्कुलदेखिकै रुचिको विषय भएको बताउँछन् । यस पेसाबाट जीवन धान्न सजिलो नभए पनि आनन्द महसुस हुने उनको तर्क छ । अर्धकदको देखिने उक्त मूर्तिले आम मानिसको ध्यान सजिलै तान्न सक्ने उनको विश्वास छ ।

Comment