उपरदाङगढीलाई पर्यटकीय क्षेत्र बनाउन चुनौती



ओएस नेपाल, चितवन, १६ फागुन । चितवनको पुरानो सदरमुकाम उपरदङगढीलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न चुनौति देखिएको छ । अप्रयाप्त बजेट, भुमि अतिक्रमण, चुन ढुङगा खानी सञ्चालनको प्रभावले ऐतिहासिक महत्वको क्षेत्र संरक्षणमा चुनौति थपिएको छ ।

पर्यटन विभागले वर्षेनी ५ देखि १० लाखसम्म बजेट छुट्याउदै आइरहे पनि पहाडी क्षेत्रमा भौतिक संरचना तयार तथा पर्यटन प्रवद्र्धन गर्न बजेट अप्रयाप्त हुदै आइरहेको छ । उपरदङगढि संरक्षण तथा पर्यटन प्रवद्र्धन समितका अध्यक्ष ढलक रानाका अनुसार यसवर्ष आउने १० लाख बजेटबाट करीव ४ सय मिटर क्षेत्रमा सिढी तथा रेलिङ राख्ने योजना छ । गतवर्ष समितिले उपरदङगढि किल्लालाई तारवार, सरसफाई, गोलघर, हतियार राख्ने म्युजियम घर, पिकनिक स्पोट बनाउन ५ लाख रुपैयाँ खर्चेको थियो ।

अध्यक्ष राना भन्नुहुन्छ–“उपरदङगढि भिर पखेरा हो, फेदिमा चुनखानी सञ्चालन गर्दा उपरदङगढि क्षेत्र भत्किदा अस्तित्व नै मेटिने खतरा रहेको छ ।” उपरदङगढी किल्ला शक्तिखोरको कोलार पहाड उत्खनन क्षेत्रभन्दा करीव एक किलोमिटर टाढा छ । खानी तथा भूगर्भ विभागले स्टार लाइन प्रालिले शक्तिखोर पहाडमा सिमेन्ट उद्योगले प्रयोग गर्ने चुन खानी उत्खनन् गर्न अनुमति दिएको थियो ।
स्थानिय बिलबहादुर थापाले उपरदङगढि क्षेत्रलाई अतिक्रमण गर्ने प्रयास सुरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“तारवार सारेर आफ्नो क्षेत्र हो भनि दावि गर्नेहरु पनि आउन थालेका छन्, उपरदङगढिको क्षेत्र मिचिन दिनुभएन ।” चितवनको दाहाखानी गाविस–३ मा रहेको उपरदङगढी पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएका थिए । पूर्वी चितवनको टाँडीबाट ६ माईल टाढा रहेको गढी सन् १८०० मा निर्माण भएको र सन् १९६० सम्म चितवनको सदरमुकाम रहेको पुरातत्व विभागले जनाएको छ ।

एक हजार दुई सय ७५ मिटर अग्लो स्थानमा रहेको गढी छ सय ३९ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यसैबीच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी चितवनले शक्तिखोर कोलारमा चुन खानी सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्नुपर्ने अडान लिएको छ । पोलिव्युरो सदस्य अनिल शर्मा विरहीले चुन खानी सञ्चालन हुँदा पानीको स्रोत सुख्ने, तटिय क्षेत्रमा पानी प्रदुषित हुने, वातावरणीय प्रभाव पर्ने, उपरदङगढि क्षेत्रमा पहिरो तथा पहाड चर्किने सम्भावना बढेर जाने बताउनुभयो । “उपरदङगढि क्षेत्र संरक्षणका लागि चुन खानी बन्द गर्नुपर्छ, अतिक्रमित क्षेत्र पुर्न रक्षाका लागि अभियान चलाउनुपर्छ” विरही भन्नुहुन्छ “नयाँ भौतिक संरचना बनाउँदा ऐतिहासिक स्वरुपकै बनाउनुपर्छ, सिमेनट बालुवा जस्ताको प्रयोग गर्नुहुदैन ।”

चितवनको शक्तिखोर तथा पृथ्वी राजमार्ग अन्तर्गत दाह्रेचोक गाविसको फिस्लिङबाट उपरदङगगढी जान सकिने सडक भएपनि दुबै सडक पहिरोले बिगारेको छ । सडक मर्मत गर्न सरोकारवाला पक्षले ध्यान दिइएको पाइदैन । जिविस, पर्यटन बोर्ड तथा पुरातत्व विभागले उपरदङगढीको संरक्षण तथा प्रवद्र्वनका लागि विभिन्न काम गरेपछि वर्षेनी उपरदङगढी जाने पर्यटकको संख्यामा वृद्वि हुदै गएको छ ।

Comment