एमआरपी पासपोर्टका लागि आउदैछन् घुम्ती टोली



MRP nepal_20100713092240ओएस नेपाल, काठमाडौ २२ फागुन-     अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकामा बसोवास गरिरहेका नेपालीका लागि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) समयमै प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले यहाँस्थित विभिन्न राज्यमा घुम्ती टोली पठाएको छ ।

हस्तलिखित राहदानीको प्रयोग गर्ने अवधि सकिँदै गर्दा दूतावासले यस्तो पहल थालेको हो ।
विभिन्न राज्यहरू र कन्टिनेन्टको आवश्यकता र स्थानीय नेपाली समुदायको मागअनुरुप टोली पठाउने कार्य जारी रहेको अमेरिकाका लागि कार्यवाहक राजदूत ऋषिराम घिमिरेले जानकारी दिए।

उनका अनुसार एनआरएनलगायत विभिन्न राज्यमा रहेका नेपाली सङ्घसंस्थाको अग्रसरतामा फारम पठाई जिम्मा लगाउने र टोली पठाउने गरिएको छ ।

त्यसैगरी हालै मेरिल्यान्ड, भर्जिनिया बासिङ्गटनमा घुम्ती टोलीद्वारा एमआरपी पासपोर्ट फारम वितरण कार्य सम्पन्न भयो । दूतावासका काउन्सुलर नारायण मैनालीका अनुसार मेरिल्याण्डको बाल्टिमोरमा गएको टोलीमा सयजना नेपालीले एमआरपीका लागि फारम लगेका थिए ।

पासपोर्ट लिन परेका निवेदनहरूमा करिब आधा जति फारम भर्दा नमिलेको, फोटोको नाप नमिलेको र फारम नै नभरेको आउने गरेको काउन्सुलर मैनालीले बताउनुभयो ।

दूतावासले एमआरपी पासपोर्टका सम्बन्धमा गतवर्षदेखि नै दूतावास, दूतावासको वेभसाइट र नेपाली विद्यार्थी अध्ययनरत विश्वविद्यालयमा सूचना जारी गरेको जनाएको छ ।

शरणार्थीका रुपमा बसेकाहरूको राहदानी फिर्ताअमेरिकामा शरणार्थीको अवस्थामा बसोवास गरिरहेका नेपालीहरूको राहदानी फिर्ता गरेको अमेरिकास्थिति नेपाली दूतावासले जनाएको छ ।

नेपाली नागरिकको पासपोर्टमा शरणार्थी भनी उल्लेख भएको भेटिएपछि दूतावासमा आएका त्यस्ता राहदानीको अभिलेख राखी सम्बन्धित व्यक्तिलाई राहदानी फिर्ता गरिएको हो ।

न्युयोर्कको कन्सुलर र नेपाली दूतावासबाट गरी हजारौँ राहदानी फिर्ता भइसकेका छन् । यस विषयमा सम्बन्धित मन्त्रालय र निकायमा जानकारी भइसकेको र निर्णय नभएसम्मका लागि राहदानीको अभिलेख राखी सम्बन्धित व्यक्तिलाई राहदानी फिर्ता गरिएको जानकारी कार्यवाहक राजदूत घिमिरेले जानकारी दिए । रासस

Comment