घिरौँलाको जालो बेचेर वार्षिक दुई लाख आम्दानी



binayakओएस नेपाल, कार्यविनायक (ललितपुर) २४ फागुन –ललितपुरको कार्यविनायक नगरपालिका–१५ का कृष्णबहादुर घिमिरेले घिरौँलाको जालो बिक्री गरी वार्षिक करिब रु दुई लाख आम्दानी गरे ।विसं २०५३ देखि कृषि पेसामा संलग्न घिमिरेले २०५७ सालदेखि तरकारीखेती गर्दै आएका हुन । छिपिएका र बीउ बनाउन राखिएका घिरौलाका जालो बेचेर उनले रु एक लाख ९० हजारसम्म आम्दानी गरेका हुन्।उनको १२ जनाको परिवार कृषि पेसामा नै निर्भर रहँदै आएको छ । आठजनाले नियमित रुपमा रोजगारीसमेत पाएका छन् । उपयुक्त जालो बनाउन नौ महिनाको समय लाग्छ ।

तरकारीका लागि प्रयोग गर्न नहुने घिरौँलालाई जालो बनाउन सकिन्छ । गाउँघरका मानिसले नुहाउनका लागि यसको प्रयोग गर्ने गर्दछन् । घिमिरेका घरमा अहिले पनि छ फिट लामो घिरौँला देख्न सकिन्छ । नौ महिना लगाएर सुकाइने घिरौँलाको जालो नुहाउनका लागि प्रयोग हुन्छ । यसको बीउ प्रतिकिलो रु १० हजारमा बिक्री गरिन्छ ।

घिमिरे परिवारले जीवनको लामो समय यस पेसालाई नै दिईसकेका छन् । अबको बाँकी समय पनि यस पेसालाई नै निरन्तरता दिने घिमिरे परिवारका सदस्यहरु बताउँछन् । गरिखान आफूसँगनै प्रशस्त जग्गाजमिन हुनु पर्दैन भन्ने उदाहरण घिमिरे परिवार बनेको छ ।

घिमिरे परिवारसँग अहिलेपनि खेती गर्ने जग्गा एक रोपनी मात्र रहेको छ । एक रोपनी मात्र जग्गा भएपनि उनलाई कृर्षि पेशा गरी आम्दानी गर्नको लागि कुनै समस्या रहेको छैन । आफ्नो स्वामित्वमा रहेको एक रोपनी र अन्य सँग भाडामा लिएको नौँ रोपनी जग्गामा घिमिरे परिवारले तरकारी र अन्नको खेती गरे ।

उनले घिरौँलाको जालोमात्र नभई अन्य तरकारी र खाद्यान्न बालीकोसमेत बीउ बनाएर बिक्री वितरण गर्दै आएका हुन । अहिले बीउमात्र बेचेर उनले वार्षिक रु १५ लाखबराबरको आर्थिक कारोबार गरे । “कारोबारबाट रु आठ लाख नाफा कमाए” उनले भने ।जिल्ला कृषि विकास कार्यालय ललितपुरले यसवर्ष घिमिरेलाई उत्कृष्ट राष्ट्रपति पुरस्कारबाट समेत सम्मान गरेको छ । रासस

Comment