चितवनमा बाली बिमा सुरु



baliओएस नेपाल रत्ननगर (चितवन), २५ फागुन । चितवनमा पहिलो पटक किसानले बाली बिमा गर्न थालेका छन् ।यो वर्षबाट किसानले विमान गर्न थालेको जिल्ला कृषि विकास कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका बागबानी विकास अधिकृत धनबहादुर थापाले अहिलेसम्म जिल्लाका २५ जना किसानले बिमा गरेको जानकारी दिए ।उनीहरु सबै केरा किसान रहेको र अन्यले पनि बिमाका लागि जानकारी लिने क्रम बढिरहेको उनले बताए । सरकारले बिमामा भारी रकम छुट दिने व्यवस्था गरेपछि किसानले कृषि बिमा सुरु गरेका हुन् ।

स्थानिय केरा किसान यज्ञ सुवेदीले दुई बिघाहाको बिमा गर्ने प्रक्रियामा रहेको बताए । अन्य केरा व्यवसायीले १० बिघाहासम्मको बिमा गरिसकेको सुवेदीको भनाई छ । अहिलेसम्म करिब रु दुई करोडको केराको बिमा भइसकेको बताइएको छ ।चितवनमा ५०० केरा किसान छन् । मुख्यगरी अघिल्ला वर्षमा हावाहुरीका कारण करोडौँंको केरा क्षति भएपछि किसान बिमातर्फ आकर्षित भएका हुन् । सरकारले कृषि बिमा गर्न चाहने किसानका लागि अघिल्लो वर्ष कुल बिमाको ५ प्रतिशत प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको थियो ।यो वर्ष बढाएर ७५ प्रतिशत पुर्याइएको र त्यसमा पनि समूह या सहकारीमार्फत बिमा गरिए प्रिमियम शुल्कमा १५ प्रतिशत कमिशनबापत छुटको व्यवस्था गरेको छ ।

यस वर्ष कृषिमा बजेट बढेको र अनुदानका कार्यक्रम पनि बढेकाले किसानलाई सचेत हुन कृषि कार्यालयले आग्रह गरेको छ । बिमाले क्षति न्यूनीकरणका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।यस वर्ष चितवनको कृषि कार्यालयमा ७९ प्रतिशतले बजेट वृद्धि भएपछि कार्यालयले जिल्लाबाटै विभिन्न कार्यक्रम समेत सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । रासस

Comment