हालसम्ममा सवारी दुर्घटनामा ३९ जनाको मृत्यु



ओएस नेपाल, तुलसीपुर (दाङ)  २७ फागुन – दाङमा यस आवको हालसम्ममा जिल्लाका विभिन्न स्थानमा भएका ९१ वटा सवारी दुर्घटना हुदा ३९ जनाको मृत्यु भएको छ ।ती दुर्घटनामा परी १२७ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सवारी दुर्घटनामा कमी आएको बताए । गत आवको हालसम्मको अवधिमा जिल्लामा १२१ दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको ट्राफिक कार्यालय दाङको तथ्याङ्कमा उल्लेख छ । यसैबीच जिल्लामा प्रहरीले मदिरा सेवन गरेर गाडी चलाउने चालक विरुद्ध सार्वजनिक मुद्दा चलाउन सुरु गरेको जनाएको छ ।

केही दिनदेखि सुरु गरेको सो अभियानमा हालसम्ममा १० जना मादकपदार्थ सेवन गरेर यात्रु बोकेर गाडी चलाउने चालक विरुद्ध मुद्दा दर्ता गरिएको दाङका प्रहरी प्रमुख खिनुप्रसाद आचार्यले बताए । मुद्दा चलाइएका चालकलाई जिल्ला प्रशासन कार्यालयले जनही रु १० हजार जरिवाना गरेको जनाएको छ । मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकको सङ्ख्या बढ्दै गएपछि चालक अनुमतिपत्रमा प्वाल पर्ने अभियानसमेत प्रहरीले सुरु गरेको छ । गत पुसदेखि सुरु गरिएको उक्त अभियानमा हालसम्म १०० जना चालकको लाइसेन्समा प्वाल पारिसकेको ट्राफिक प्रहरी प्रमुख थापाले जानकारी दिए । रासस

Comment