म्याग्दीका १५ गाविस भवन पुनःनिर्माण



ओएस नेपाल, (म्याग्दी), ८ चैत –   सशस्त्र द्वन्द्वको समयमा क्षति पुरर्याइएका म्याग्दीका १५ वटा गाविस कार्यालय भवनको पुनःनिर्माण भएको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा जिल्ला प्राविधिक कार्यालयमार्फत गाविस कार्यालयको नयाँ भवन निर्माण गरिएको हो । दरबाङ, बाबियाचौर, अर्मन, बरङ्जा, भकिम्ली, कुहुँ, भुरुङ तातोपानी, दाना र चिमखोला गाविसको भवन पुनःनिर्माण भइसकेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर हर्षबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार हाल बेनी नगरपालिकामा समावेश गरिएको तत्कालीन सिंगा, ज्यामरुककोट, पुलाचौर, रत्नेचौर, घतान र अर्थुङ्गे गाविसको भवन पनि पुनःनिर्माण भएको छ । आर्थिक वर्ष २०६५/६६ देखि म्याग्दीमा गाविस भवन पुनःनिर्माण कार्य सुरु भएको थियो ।

आर्थिक वर्ष २०६९७० मा सुरु भएको चिमखोला र सिंगाको भवन निर्माण कार्य सम्पन्न भई प्रयोगमा आएका छन् । शिख र मुनाको भवन निर्माणमा ठेकेदारको लापर्बाहीले ढिलाइ भएको छ । चिमखोला र सिंगामा सभाहलसहितको चार/चार कोठे कार्यालय भवन बनाउन रु २७÷२७ लाख खर्च भएको इन्जिनियर गुरुङले बताए ।

द्वन्द्वको समयमा म्याग्दीका ४० वटा गाविस भवनलाई तत्कालीन विद्रोही माओवादी पक्षबाट आगजनी गरी भत्काएर क्षति पुरर्याइएको थियो । रासस

Comment