सिङ्गो गाउँका महिला तरकारी उत्पादनमा



vegetableओएस नेपाल, भीमदत्तनगर, १३ चैत – थारु चौधरी समुदायको बाहुल्यता रहेको कञ्चनपुरको कृष्णपुर गाविस–९ बालुवाफाँटाका महिला तरकारीखेतीबाट आयआर्जनमा जुटेका छन् ।

धान, गहुँभन्दा बेमौसमी तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि उनिहरु तरकारी उत्पादन गर्दै आएका छन् । विभिन्न सङ्घसंस्थाले गाउँमा व्यावसायिक तथा बेमौसमी तरकारी उत्पादन तालिम दिएपछि ३० जना चौधरी समुदायका महिला अहिले तरकारी उत्पादन गरिरहेका छन् ।

उनीहरुले एक कट्ठादेखि एक बिघासम्म आ–आफ्नो खेतमा तरकारी उत्पादन गरी गाउँ तथा कैलालीको अत्तरिया बजारमा बिक्री गर्दै आएका छन् ।

“गाउँमा तरकारी उत्पादनमा नलागेका त महिला नै छैनन् ।” बालुवाफाँटाकी ममता चौधरीले भन्नुभयो, “अहिले बेमौसी तरकारी सबैको बारीमा फलेको छ ।” उनले आफू विगत पाँच वर्षदेखि सात कट्ठामा तरकारी लगाएर घर खर्च चलाइरहेको बताए ।

“तरकारी लगाउँदा पूरै परिवार नै खेतमा मेहनत गर्छौं ।” उनले भने, “उत्पादन भइसकेपछि महिला नै बिक्रीका लागि छिमेकी गाउँदेखि अत्तरियासम्म पुग्छन् ।” ममताले आफूले उत्पादन गरी बिक्री गरेको तरकारीको पैसाले घरखर्च चलाउन सजिलो भएको बए ।

“अहिले लौका, फर्सी, गोलभेँडालगायतका तरकारी फलाएका छौँ ।” उनले भने, “बिक्री गर्न सबै महिला सँगै जान्छौँ ।” तरकारी उत्पादनमा लागेका बालुवाफाँटाका महिला समूह बनाएर सङ्गठितसमेत भएका छन् । उन्नति बचत समूह बनाएर गाउँमा तरकारी उत्पादनमा जुटेका ३० जना महिला नै त्यसमा आबद्ध छन् ।

आफूहरुले साप्ताहिक रुपमा रु १० का दरले बचतसमेत गर्ने गरेको समूहकी सदस्य फुलमती चौधरीले बताए । “समूहमा गरिएको बचत तरकारी उत्पादन व्यवसायमा लाग्नेहरुलाई सहुलियतमा ऋण दिन्छौँ ।” उनले भने, “समूहका सबैलाई यसले सहयोग पुगेको छ ।” महिलाको समूहमा हाल रु १४ हजार बढी रकम सङ्कलन भएको समूहका पदाधिकारीहरु बताउँछन् ।

“एक कट्ठामा तरकारी लगाएर पनि राम्रै आम्दनी गरेको छु ।” फुलमती चौधरीले भने, “अब जग्गा भाडामा लिएर तरकारीखेती बढाउने तयारीमा छु ।” आफूहरुले उत्पादन गरेको बेमौसमी तरकारीबाट मनग्य आम्दानी हुने गरेको तरकारी उत्पादनमा लागेका महिलाको भनाइ छ ।

“घरमा कमाउने मान्छे छैन ।” स्थानीय चिरबुद्धी चौधरीले भने, “मैले नै तरकारी उत्पादन गरेर घरखर्च चलाएकी छु ।” उनले तरकारी उत्पादनमा सिङ्गो गाउँका महिला आफै जुट्ने गरेको जानकारीसमेत दिए । हाल बालुवाफाँटामा आलु, काउली, गोलभेँडा, खुर्सानी, लौका, फर्सी, बन्दागोभीलगायतका तरकारी प्रशस्त उत्पादन भएको छ ।

“अब बिक्रीका लागि तयार भइसकेको छ ।” चिरबुद्धि चौधरीले भने, “सबैले आ–आफ्नो खेतमा तरकारी फलाएका छन् ।” सुदूरपश्चिम र मध्यपश्चिमकै अग्रणाी गैर–सरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ९एनएनएसडब्ल्युए ले महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत उन्नति बचत समूहका महिलालाई आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । “महिलालाई आर्थिक रुपमा सक्षम वनाउन तथा एकजुट गराउन सहयोग गर्दैआएका छौँ” महिला आर्थिक सशक्तिकरण कार्यक्रमकी संयोजक मेनुका वस्नेत विष्टले भने ।

सो संस्थाले बालुवाफाँटा, दैजी, सुडा, कृष्णपुर तथा जिल्लाका अन्य क्षेत्रमा तरकारी उत्पादनमा लागेका महिलाका लागि विभिन्न उत्पादनमूलक तालिम तथा अन्य सहयोग प्रदान गर्दै आएको संस्थाका कार्यकारी निर्देशक अशोकविक्रम जैरुले बताए । रासस

Comment