वीर अस्पतालको इतिहास पुस्तकमा



bir-hospital_20140726121942ओएस नेपाल, काठमाडौँ, १४ चैत – “ । । । अधि अधिका मुख्याताहरुले हस्पीतल न राख्या हुनाले अ‍ैल्हे श्री ३ महाराजका वीरशम्शेर उदय भए पछीका आफ्ना रैती दुनियाँले औषधि न पाई साहै दुः ख पाउँदा भन्या जाहेर भन्या । । ।।” जाहेर हुँदा यो हस्पीतल बक्सेको । तत्कालीन श्री ३ वीरशम्शेरको निगाहाबाट विसं १९४६ साउन १२ गते वीर अस्पताल हाल राष्ट्रिय नाचघर रहेको स्थानमा स्थापना भएको थियो । ती माथिका शब्दाशं सो दिन वीर शम्शेरले स्थापना समारोहमा बोलेका थिए ।

अस्पताल स्थापनाको १२७ वर्षमा आधुनिक चिकित्सा विज्ञानका क्षेत्रमा ठूलो आरोह अवरोध आयो । यही आरोह अवरोधलाई विषयवस्तु बनाई अस्पतालका पूर्व निर्देशक प्रा डा बुलन्द थापाले वीर अस्पतालको इतिहासलाई पुस्तक आकार दिएका छन । पुस्तकभित्र अस्पताल स्थापना हुनुका कारण, स्थापना भएपछिका अवस्था, कार्यरत चिकित्सक, उनले दिएका योगदान र सेवा, विकासक्रम, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान(नाम्स) स्थापना, अस्पतालको भावी योजनाजस्ता विषयवस्तु करिब दुईसय पृष्ठको पुस्तकभित्र समावेश गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, वरिष्ठ चिकित्सकहरु लोकविक्रम थापा, दिव्येश्वरी मल्ल, ज्वालाराज पाण्डे, हेमाङ्ग दीक्षित, मृगेन्द्रराज पाण्डे, स्वयंप्रकाश पण्डित, गौरीशङ्करलाल दास, गणेशबहादुर गुरुङले संयुक्तरुपमा सो पुस्तकको आज यहाँ सार्वजानिक गरे ।

सो अवसरमा मन्त्री अधिकारीले आधुनिक चिकित्सा विज्ञानको क्षेत्रमा अतुलनीय योगदान दिँदै आएको वीर अस्पतालको विकासका लागि मन्त्रालयले उच्च प्राथमिकता दिँदै आएको बताए । उनले विशिष्ट व्यक्तित्वहरुको उपचार वीर अस्पतालमा गर्नुपर्ने र यहाँ उपचार हुन नसकेमा मात्र विदेशमा सिफारिस गरिने नीतिलाई मन्त्रिपरिषद्को बैठकले पारित गरेको जानकारी दिँदै यसलाई पालन गर्न मन्त्रालय दृढ रहेको बताए ।

सचिव श्रेष्ठले सेवाग्राहीको विश्वसनियता नै यसले आर्जन गर्ने सम्पत्ति भएकाले यसमा कुनै सम्झौता नगर्न आग्रह गर्दै यसलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन मन्त्रालयले ध्यान दिएको छ भने ।पुस्तकका लेखक प्राडा थापाले अस्पतालको पाँचवर्ष निर्देशक पद सम्हाल्दा आफूले वीर अस्पतालको इतिहासको महत्व बुझेको तर कही कतै नलेखिएको हुनाले पुस्तक रचना गरेको जानकारी दिए ।

पुस्तकको समीक्षा गर्दै अस्पतालका निर्देशक प्राडा स्वयंप्रकाश पण्डितले नेपालको चिकित्सा विज्ञानको जग हालेको अस्पतालले सेवा र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ तर यसका काम लिपिबद्ध नभएकाले आगामी दिनमा यसलाई उजागर गर्न पुस्तकले सहयोग मिल्नेछ भने । रासस

Comment