गुणस्तरहीन खाद्य उत्पादन गर्ने ३० उद्योगविरुद्ध मुद्दा दायर



biratnagat-gateओएस नेपाल, बरगाछी (विराटनगर) १४ चैत – क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने ३० खाद्य उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७१/०७२ को दोस्रो चौमासिक प्रगति सार्वजनिक कार्यक्रममा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मोरङका १४ र सुनसरीका १६ वटा उद्योग तथा होटलका विरुद्धमा मुद्दा दायर गरेको जनाएको छ ।

सो अवधिमा कार्यालयले मोरङका श्रीजल उद्योग विराटनगर, गङ्गा पेयजल उद्योग विराटनगर, स्वस्तिक आयल इन्डस्ट्रिज मोरङ, श्री श्याम एग्रो प्रोडक्ट मोरङ, खेतान चिया उद्योग विराटनगर, गुडलक वेभरेज मोरङ, स्क्वा एक्टिभ वेभरेज मोरङ, पूर्वाञ्चल निर्मलजल उद्योग विराटनगर, सरस्वती स्पाइसेज एन्ड फुड प्रोडक्ट विराटनगर, पूर्वाञ्चल निर्मलजल उद्योग विराटनगर, शान्तिजल उद्योग प्रालि विराटनगर, युनिक स्विट्स एन्ड स्न्याक्स मोरङ, स्विट्स एन्ड स्न्याक्स, क्वालिटी आयल रिफाइनरी प्रालि उद्योग र होटलका विरुद्ध मुद्दा दायर गरेको हो ।

त्यसैगरी सुनसरीका ओम सत्य साइ वाटर इन्डस्ट्रिज, एसियन थाइ फुड्स प्रालि, सागर फिट प्रोडक्ट्स, क्वलिटी डाइट एन्ड फुड प्रोटक्ट्स, कोसी जल उद्योग, कामधेनु दुग्ध सहकारी संस्था लिमिटेड, दिव्यश्वरी जल उद्योग, क्वालिटी डाइट एन्ड फुड प्रोडक्टस, पशुपति बिस्किट इन्ट्स्ट्रिज प्रालि, क्वलिटी डाइट एन्ड फुड प्रोडक्ट्स, बालाजी बिस्किट इन्डस्ट्रिज प्रालि, क्वलिटी डाइट एन्ड फुड प्रोडक्ट्स, पशुपति खाद्य तेल उद्योग, एसियन थाइफुड्स प्रालि, क्वलिटी डाइट एन्ड फुड प्रोडक्ट्सलाई पनि मुद्दा दायर गरिएको कार्यालय प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।

कार्यालयले यो अवधिमा मोरङ, सुनसरी, झापा, सप्तरी, उदयपुर, सिरहा, ओखलढुङ्गाका १४४ वटा उद्योगको अनुगमन तथा निरीक्षण गरेको प्रमुख कोइरालाले बताए ।उनका अनुसार कार्यालयले दुई हजार ६८९ वटा नमुना सङ्कलन गरी परीक्षण तथा विश्लेषण गरिनुका साथै गुणस्तरहीन ९२ हजार ३२० केजी दाललाई कारबाहीका लागि भन्सार कार्यालयलाई पत्राचार गरिएको छ । सो अवधिमा क्षेत्रीय खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयले उपभोक्ता हकहितका लागि काम गर्ने सङ्घसंस्था, होटल, रेस्टुराँ, सिन्के चाउचाउ उद्योग र पाउरोटी उद्योगलगायतलाई खाद्यान्नको गुणस्तरीयता खाद्यान्न उत्पादन र प्रयोग सम्बन्धमा तालिम पनि दिएको कोइरालाले जानकारी दिए । रासस

Comment