बाग्मतीबाट ६० मेट्रिक टन फोहर व्यवस्थापन



cb13df895223382feedab9af95d5c4fbओएस नेपाल, काठमाडौँ, १४ चैत – बाग्मती नदी सफाइ महाअभियानको ९८औँ शृङ्खलामा आज सुन्दरीघाटस्थित राधासमी सत्सङ आसपास क्षेत्रमा सफाइ गरी ६० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । महाअभियानको अहिलेसम्ममा सबैभन्दा बढी फोहर व्यवस्थापन आज भएको हो । बाग्मती नदीमा प्रदूषण बढेपछि त्यसलाई पहिलेकै स्वच्छ तथा स्वस्थ अवस्थामा फर्काउने उद्देश्यले गएको वर्ष जेठ ४ गतेदेखि प्रत्येक शनिबार सुरु गरिएको सो महाअभियान नदीका विभिन्न स्थानको सफाइ गर्दै अहिले त्यस क्षेत्रमा जुटेको हो ।

बाग्द्वारबाट सुरु भएको सो महाअभियान विगत केही हप्तादेखि बल्खु हुँदै त्यस क्षेत्रमा सक्रिय भई लागेको छ । मुख्यसचिव लीलामणि पौडेलले नेतृत्व गर्नुभएको महाअभियान चोभारमा पुगेर अन्त्य हुने छ । अब दुई सातापछि समापन हुने महाअभियानको १०० हप्तामा सो नदीलाई राजधानीवासीले मानव साङ्गलो घेरा हालेर फोहर नगर्ने प्रतिबद्धता जाहेर गर्नेछन् । सो अवसरमा मुख्यसचिव पौडेलले काठमाडौँ उपत्यकाको जनजीवनमा सो नदीको ठूलो महत्व रहेको उल्लेख गर्दै यसलाई हामीले हरतरहले संरक्षण गर्नुपर्नेमा जोड दिए ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नारायणप्रसाद रेग्मीले सबै प्राणीलाई जन्मदेखि नमरुन्जेलसम्म बाग्मतीको आवश्यकता रहेको भन्दै सबैको सहकार्यबाट सो नदीको प्रदूषण न्यूनीकरण गर्न सकिने बताए । काठमाडौँ महानगरपालिकाका इन्जिनियर रवीनमान श्रेष्ठले महाअभियानका कारण नदी विगतमा भन्दा सफा हुँदै गएको जिकिर गरे । स्थानीयवासी किशोर गौतमले बाग्मती तथा सहायक नदी नालाको संरक्षण तथा स्वच्छताले मात्र उपत्यकावासीको सभ्यताको पहिचान कायम हुने विचार व्यक्त गरे । रासस

Comment