जुम्ली किसानलाई भालुबाट मकै जोगाउने पिरलो, भालुले सखाप पार्न थालेपछि — OSNepal

जुम्ली किसानलाई भालुबाट मकै जोगाउने पिरलो, भालुले सखाप पार्न थालेपछि

LC (KTM) September 22, 2021 0

जुम्ला, ६ असोज -यति बेला जुम्ली किसानलाई भालु बाट बकै जोगाउने पिरलो छ । यहाँका स्थानीय भालु भगाएर मकै जोगाउनका लागि रातभर जाग्राम बस्न थालेका छन् ।बारीमा लगाएको मकै बाली बचाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको तिला- ६ रिपी गाउँका नरिमान रावतले बताए । उनले भने, ‘भालुले मकै सखाप पार्न थालेपछि किसान मकैबारीमै बस्न थालेका छौँ । हाम्रो मुख्य बाली नै मकै हो । मकै उत्पादन भएको खण्डमा खान समस्या हुँदैन । यही मकै भालुले सखाप पार्न थालेपछि चिन्तित बनेका छौँ ।’

उनले भालु भगाउन हरेक बारीमा तर्साउने वस्तु राखिएको बताए । भालु आउने बाटो पहिचान गरेर पासो थाप्नेदेखि भाँडाकुँडा बजाएर भगाउने गरिएको उनको भनाइ छ । ‘कहिलेकाहीँ थाल र जस्तापाता बजाएर भालु बारीमा पस्न नदिने प्रयास जारी नै छ’, उनले भने, ‘भालु नियन्त्रणमा लिन सकिने अवस्था छैन । बारीमा एक्लै हिँड्नसमेत सकस हुने गरेको छ ।’

उनका अनुसार यस क्षेत्रमा अन्नबाली उत्पादन नै कम हुन्छ । त्यसमा पनि वन्यजन्तुले दुःख दिने गरेका छन् । अधिकांश किसानले खेतबारी वरिपरि मान्छे जस्तै आकृित बनाएर राख्ने गरेका छन् । दिउँसो मानिसको व्यापक चहलपहल हुने भएकाले भालु बारीमा पस्न डराउँछ । तर, रातिको समयमा बारीमा पसेर अन्नबाली खाएर सखाप पारिदिन्छ । ‘बारीमा कुकुर बाँधेर राख्ने, मकैबारीमा पाल टाँगेर बस्ने गरिएको छ । अहिले किसानलाई मकै बचाउन भ्याइनभ्याइ छ’, उनले भने ।

यहाँका किसानका लागि भालु भगाउने समस्या भने यो पहिलो होइन । बर्सेनि भालुले बालीमा नोक्सानी पुर्‍याउने गरेको यहाँका किसानको गुनासो छ । अहिले जिल्लाभर भालुको बिगविगी बढेको छ । यहाँका स्याउ बगैँचा, मौरीका घारदेखि मकैबालीमा भालु पस्नाले निकै समस्या गरिरहेको किसान बताउँछन् ।

यसअघि आहाराको खोजीमा भालु जुम्ला सदरमुकाम खलंगा बजारमा पसेको थियो । त्यस बेला सदरमुकामको मुटुमै तीन जनालाई आक्रमण गरेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा भालु मारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर