अविरल वर्षासँगै आएको बाढी-पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध — OSNepal

अविरल वर्षासँगै आएको बाढी-पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

LC (KTM) October 19, 2021 0

बझाङ, २ कात्तिक-अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ केदारस्यूँ गाउँपालिका-१ नारुगौडास्थित बाढीले सडक बगाएपछि सो राजमार्ग अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव बढेकाले राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन र यात्रुबीच बाटोमै अलपत्र परेका छन् ।

त्यस्तै वर्षाका कारण काटेर भित्र्याउने तयारीमा रहेका धानबालीमा ठूलो क्षति पुर्‍याएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् । लगातारको वर्षाले सेती र कालङ्गा नदीका तटिए क्षेत्रका खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी डुवेको छ ।

धेरै ठाउँमा किसानले खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको जयपृथ्वी नगरपालिका- ५ का नरेस सिंहले बताउनुभयो । धान काटिसकेको भए पनि चुट्न बाँकी रहेको र धान काटेर खेतमै सुकाउन राखेको अवस्थामा पानी पर्दा धानमा क्षति भएको उहाँको भनाइ छ । पानीले जयपृथ्वी नगरपालिकाको गोलाइ जिउलो, डुग्री, पडेस, साइलाबगर, केदारस्युँ गाउँपालिकाको झोता, देउरा, बुङगल नगरपालिकाको सट्टाय, बिजगडा, गिरांैलगायतका जिउलामा काटेर सुकाउन राखिएको धान पानीले भिजेर क्षति भएको हो । बाहुली खोलामा आएको बाढीले जिल्ला सदरमुकाम चैनपुरको खोला छेउमा रहेका दुई वटा पोल्टी फर्म, बङ्गुर फर्म बगाएको छ ।

विभिन्न ठाउँमा गएको पहिरोले सयौं परिवार विस्थापित हुन पुगेका छन् । बाढीका कारण लघु जलविद्युत् आयोजना, नहर, विद्यालय, ग्रामीण सडकमा क्षति पुगेको छ । पहिरोले सयांै रोपनी खेत पनि बगाएको छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख नायब उपरीक्षक रुपक खडकाले बताउनुभयो ।

जिल्लाका ३९५ स्थान बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ । जयपृथ्वी नगरपालिकाका ११६, बुङगल नगरपालिकाका ५१, साइपाल गाउँपालिकाका ११, तल्कोट गाउँपालिकाका २५, मष्टा गाउँपालिकाका ५१, सुर्मा गाउँपालिकाका १३, छविसपाथिभेरा गाउँपालिकाका २२, दुर्गाथली गाउँपालिकाका १३, खप्तडछान्ना गाउँपालिकाका २०, थलारा गाउँपालिकाका १०, केदारस्युँ गाउँपालिकाका ३४, वित्थडचिर गाउँपालिकाका २९ स्थान जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले जानकारी दिनुभयो । (रासस) ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर