इलाम बजारमा डोको बोकेर चिया टिप्दै गरेको मुर्ति स्थापना, मूर्तिले गर्नेछ स्वागत — OSNepal

इलाम बजारमा डोको बोकेर चिया टिप्दै गरेको मुर्ति स्थापना, मूर्तिले गर्नेछ स्वागत

LC (KTM) January 11, 2022 0

मङ्गलबारे, २७ पुस-इलाम बजार आउँदै हुनुहुन्छ । आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ । यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना समेत गरेको छ । चियाको बोटबाट चिया टिपेर थुन्सेमा लगाउँदै गरेको झैँ देखिने मूर्ति यहाँको पहिचान भएको नगरपालिकाले जनाएको छ ।

मूर्तिलाई सदरमुकामस्थित इलामचोकमा राखिएको छ । झापा हुँदै मेची राजमार्ग भएर आउने पाहुनालाई लक्षित गरेर निर्माण गरिएको मूर्ति जिल्लाको संस्कृतिको प्रवद्र्धन काशेढुङ्गाका रुपमा काम गर्ने जनाइएको छ । अढाइ सय किलोको सो मूर्ति चर्चित मूर्तिकार विष्णु श्रेष्ठले बनाउनुभएको हो । जिल्लामा चिया बगान स्थापना गर्ने गजराज सिंह थापा र शङ्खधर साँख्वाको मूर्तिसमेत उहाँले नै निर्माण गर्नु भएको बताइएको छ ।

विक्रम सम्बत १९२० मा इलामका बडाहाकिम गजराज सिंह थापाले चिया रोपन सुरु गर्नुभएको इतिहास छ । विसं १९३५ मा बगान रहेको स्थानमा इलाम चिया कारखाना स्थापना गरिएको थियो । इलाम नगरपालिका–७ मा रहेको नेपालको पुरानो चिया बगान र चिया कारखानामा काम गर्ने मजदूरको सम्मानमा इलाम नगरपालिकाले महिला चिया मजदूरको मूर्ति स्थापना गरेको जनाएको छ ।

श्रम र श्रमजीवी व्यक्ति समाजका निमार्णकता, समृद्धिका सम्वाहक भएकाले उनीहरुको माध्यमबाट मात्रै यो ठाउँलाई समृद्ध बनाउन सकिने इलाम नगर प्रमुख महेश बस्नेतको भनाइ छ । मजदूरको जीवनस्तर उकास्न र उनीहरुको काममा समेत प्रतिष्ठा बढाउन सरकार लाग्नुपर्ने भन्ने सन्देशका साथ मजदूरको मूर्ति चोकमा स्थापना गरिएको इलाम – ७ का वडाध्यक्ष नरेश श्रेष्ठको भनाइ छ । उहाँले गणतन्त्र केवल शब्दमा मात्रै नभइ व्यवहारमा पनि आएको जनाउँदै तत्कालीन राजाको शालिक रहने स्थानमा चिया मजदूरको सालिक निमार्ण गर्न सकिएको बताउनुभयो । यस सालिक भएको स्थानमा पहिला राजाको सालिक थियो । गणतन्त्र घोषणापछि सालिक हटाइएको थियो ।

इलाम नगरको सौन्दर्यीकरण बढाउन नगरपालिकाले विभिन्न राष्ट्रिय विभूति र अन्य चर्चित व्यक्तित्वको मूर्ति स्थापना गरेको छ । विभिन्न चोक तथा घुम्तीमा मूर्ति निर्माण गरिएको छ । कला र संस्कृति गजेर्ना गर्दै अरुलाई पनि प्रेरणा मिलोस भन्ने उद्देश्यले बजारका विभिन्न स्थानमा मूर्ति र प्रतिमा स्थापना गरिएको नगरपालिकाले जनाएको छ । नगरको सौन्दर्यीकरणका लागि देशका ख्यातिप्राप्त व्यक्तित्वको सालिक स्थापनामा जोड दिइएको नगर प्रमुख महेश बस्नेत जानकारी दिनुभयो ।

नगरका विभिन्न स्थानमा दर्जनौं मूर्ति यहाँ राखिएको छ । यी मूर्तिहरुले जिल्लाको गौरव बढाएको यहाँ आउने पर्यटकले बताएका छन् । धेरैले पछिल्लो समय इलामलाई मूर्तिको सहर समेत भनेर भन्न थालेका छन् । नगरले पुरानो इलाम दरबारमा स्थापना गरिएको अरनिको सङ्ग्रहालयमा अरनिकोको सालिक राखेको छ ।

यहाँ संस्कृति झल्काउने पञ्चैबाजा बजाएको मूर्तिसमेत राखिएका छन् । साहित्यकार पारिजात, हाँस्य व्यङ्ग्यकार विष्णु नवीन, महानन्द सापकोटाको सालिक अलगअलग स्थानमा स्थापना गरिएको छ । त्यस्तै इलाम चियाबारीमा जातजातीको पोशाक झल्किने मूर्ति समेत राखिएको छ । मुर्ति स्थापना कार्यले ऐतिहासिक संस्मरण र विभिन्न व्यक्तित्वको सम्झना मात्र होइन पर्यटन, कला संस्कृतिको विकास हुने देखिन्छ ।

यसले जिल्लाको पहिचान मात्र नभइ भावी सन्ततिलाई समेत पूर्खाको सम्झना दिलाउने बताइएको छ । सालिक निर्माण गर्नेका परिवारका सदस्यलाईसमेत राम्रो काम गर्न र गराउन उत्प्रेरण जगाउने देखिन्छ । तर नगरपालिकाले निर्माण गरिएका सालिकको स्याहार भने गरेको पाइँदैन । सुरक्षाका लागिसमेत ध्यान दिएको पाइँदैन । पहिले केही सालिकको तोडफोडसमेत भएको थियो । निर्माण भएका शालिकको जगेर्ना गर्नु सबैको दायित्व हो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर