एकपछि अर्को गर्दै नयाँ नेपाली चलचित्रको रिलिज मिति घोषणा — OSNepal

एकपछि अर्को गर्दै नयाँ नेपाली चलचित्रको रिलिज मिति घोषणा

LC (KTM) December 01, 2021 0

काठमाडौं । नेपालका सिनेमा हलले अब अब नेपाली फिल्म नियमित रुपमा पाउने भएका छन् । एकपछि अर्को गर्दै नयाँ नेपाली चलचित्रको रिलिज मिति घोषणा गरिएपछि हल सञ्चालकहरुलाई केही राहत हुने भएको छ ।

यतीबेला बलिउड अभिनेता सलमान खानको फिल्म अन्तिम प्रदर्शन गरिरहेका हल सञ्चालकहरुले २ पुषबाट नियमित नेपाली चलचित्र प्रदर्शन गर्न पाउने भएका छन् । पुष २ मा चलचित्र चपली हाईट २ रिलिज हुँदैछ । पुषमा अरु दुई नेपाली चलचित्र रिलिजको तयारी हुँदैछ । २०७६ सालमै निर्माण भएका दुई दर्जन नयाँ चलचित्र प्रदर्शनीको प्रतिक्षामा छन् ।

यसै कारण नेपाल चलचित्र निर्माता संघ र चलचित्र विकाश बोर्डले महिनामा तीन देखि चार वटासम्म नयाँ नेपाली चलचित्र प्रदर्शनको लागि पहल गरिरहेको छ । चलचित्र विकाश बोर्डले त अहिले रिलिज भएको नेपाली चलचित्रलाई करिब ६ लाखको विभिन्न सहुलियता प्रदान गरिरहेको छ ।

यसै क्रममा आगामी माघमा एउटा मात्र चलचित्र म यस्तो गीत गाउँछु २ रिलिज हुने भएको थियो । अब भने अर्को नेपाली चलचित्र पनि माघको लागि तय गरिएको छ । नयाँ चलचित्र ‘मन्त्र’ २८ माघबाट देशब्यापी रिलिजको तयारी गरिएको हो । उता १३ फागुनमा पर्व विदालाई लक्षित गरेर दुई वटा नेपाली चलचित्र प्रेमगीत ३ र लप्पन छप्पन २ सँगै रिलिज हुने भएको छ । यी दुई सिनेमा मध्य लप्पन छप्पन २ को रिलिज पछि सार्नको लागि पहल भईरहेको छ ।

२८ माघमा मन्त्री रिलिजको घोषणा सोमबार मात्र गरिएको हो । सौगात मल्ल,बुद्दि तामाङ र दिया पुनको मुख्य भूमिका रहेको चलचित्र मन्त्रको सोमबार नै फस्ट लुक्सको रुपमा पोस्टर पनि सार्वजनिक गरिएको छ । यो चलचित्र पनि २०७७ को सुरुमा प्रदर्शनी गरिने भनिएको थियो । तर कोरोना महामारी र लक डाउनका कारण त्यतिबेला प्रदर्शन गर्न नसकिएको निर्माण पक्षले जनाएको छ ।

माघको अन्तिम साता नेपाली चलचित्र रिलिजका लागि नभएकाले आफुहरुले यो फिल्मको रिलिज त्यो समयका लागि तय गरेको यो चलचित्रका वितरक गोबिन्द शाहीले बताएका छन् ।

हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको यो चलचित्र एउटा मौलिक शैलीमा तयार भएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रको छायाँकन ५ हजार १०० मिटर भन्दा माथिको उचाइमा रहेको मनास्लु हिमालको बेस क्यामसम्म पुगेर गरिएको थियो । हिमाली जनजीवनका सँघर्ष कथा यस चलचित्र मार्फत आफुले प्रस्तुत गर्न लागेको यसका निर्देशक खिल बहादुर गुरुङले बताएका छन् । उनका अनुसार गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुमा यो फिल्म आधारित छ । राधानि दैनिकमा खबर छ ।

चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । साम्तेन भुटियाले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर