एक समय पहाड र तराई लाई ब्यापार मार्फत जोड्ने पुर्वको सबैभन्दा पुरानो बजार मधुमल्ला ओझेलमा — OSNepal

एक समय पहाड र तराई लाई ब्यापार मार्फत जोड्ने पुर्वको सबैभन्दा पुरानो बजार मधुमल्ला ओझेलमा

LC (KTM) December 02, 2021 0

लोकनाथ रिजाल

राधेश्याम शाह (तेली)२००९ सालमा बिराटनगरको कर्सियाबाट आफ्ना आमा बुवा संग बसाई सरेर मधुमल्लामा आउदा यहा खासै बस्तीहरु थिएनन् । उनी त्यतिबेला ७ बर्षका थिए । मधुमल्लाको बजार भने ठुलै लाग्ने गरेको उनी संझिन्छन् । २०२० साल देखी ब्यवसायमा लागेका शाह अझै पनि ब्यवसायनै गरिरहेका छन् । पहिलाको बजार र अहिलेको बजार हेर्दा उनलाई कहाली लागेर आउने बताउँछन् ।

उनले बताए जस्तै पुर्वकै पुरानो बजार मधुमल्लाको अवस्था दयनीय बन्दै गएको छ । ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा लगायतका पहाडी जिल्लाहरुको ब्यापारीक केन्द्र बनेको मधुमल्ला अहिले अरु बजारको तुलनामा खुम्चदै गएको छ । सबै पहाडि जिल्लाबाट ब्यापार ब्यवसायको सिलसिलामा मधुमल्ला बजार आउने गरेको र तराईका बिभिन्न ठाउबाट समेत बजार भर्न भेला हुने गरेको पुराना ब्यवसायी शाहको भनाई छ । त्यति बेला तीन दिन सम्म बजार लाग्ने गरेको स्थानीय ६८ बर्षिय रुप बहादुर खड्का बताउँछन् ।

मुख्य बजारको दिन सोमबार भए पनि टाढा टाढा बाट ब्यापार ब्यवसायका लागि आउने गरेकोले आईतबार देखी मंगलबार सम्म बजार लाग्ने गरेको थियो । तर अहिले सोमबार त्यहि पनि सानो माब बजार लाग्ने गरेको छ । बिशेष गरेर पहाडमा उत्पादन हुने गरेका आलु , घ्यू , अम्लिसो, अदुवा, फलफुल तथा जडिबुटीले त्यतिबेला बजार भरिभराउ हुने गरेको थियो ।

त्यस्तै पहाड बाट खसी, बाख्रा तथा कुखुरा समेत बेच्ने आउनेको लर्काे नै लाग्ने गर्दथ्यो । चोया बाट बन्ने बिभिन्न सामाग्रीहरु डोको, डालो, ढाकी, फुर्लुङ, घुम लगायतका सामाग्री पनि मनग्ये आउने गरेका थिए । तराईका बिभिन्न ठाउबाट अन्य उपभोग्य बस्तुहरु आउने गर्दथे । बिशेष गरेर बिराटनगरको रंगेली बाट खाद्यवस्तु दाल, चामल, नुन खरीद गरेर बेच्ने गरेको ब्यापारी शाहले बताए ।

त्यतिबेला पैदलै हिडेर पहाड बाट तराई झर्ने गरेका थिए । हालको मधुमल्ला–रबी सडकखण्ड त्यतिबेला पहाड बाट सामान ढुवानी गर्ने ढाकरेहरुको सबैभन्दा छोटो बाटो रहेकोले पनि बजार एकदमै ठुलो लाग्ने गरेको स्थानीय ब्यवसायी रमेश प्रसाद दाहाल बताउँछन् । त्यतिबेला तराईमा ढुवानीको मुख्य साधन भनेको बयलगाढा रहेको थियो ।

बयलगाढामा रंगेली बाट दैनिक खाद्यबस्तुहरु आयात हुने गरेको थियो भने यताका उत्पादीत बस्तुहरु रंगेली निर्यात हुने गरेको स्थानीय ब्यवसायीहरुको भनाई छ । बिशेष गरेर पहिलाको समयमा बस्तूहरुको बिनिमय हुने गरेको स्थानीय बताउँछन् । पहिलाको बजार संझिदै शाह भन्छन्– ‘ त्यतिबेला घ्यूमा नुन साट्ने गर्थे , पहाड तिर नुन नपाईने तर घ्यु पाईने भएकोले बस्तु साटसाट गर्ने चलन थियो ।’

एउटा ईतिहास बनाएको मधुमल्ला बजार अहिले भने प्रतिकको रुपमा मात्र सिमित भएको छ । पहाड र तराईका उपभोग्य वस्तुहरु किनबेच हुने गरेको पुर्वकै पुरानो बजार मधुमल्ला अन्य शहरहरुको तिब्र बिकाश संगै नाममा मात्र सिमित हुन पुगेको छ । तीन दिन सम्म लाग्ने बजार अचेल सोमबार त्यहि पनि सानो मात्र लाग्ने गरेको छ ।

उतीबेला १४ बिघाह क्षेत्रफलमा पहाड तराई सबैतिरका हजारौ मानिसहरुको भिड संगै बजार लाग्ने गरे पनि अहिले त्यो अवस्था छैन । यो बजारको सिधा कनेक्सन पहाडी जिल्ला र सिमार्वती क्षेत्र भारतको जोगवनी संग रहेको थियो । त्यतिबेला यातायातको साधन नहुने भएकोले बस्तु खरीद बिक्रि गर्न पहाडि जिल्ला बाट ढाकरेहरु पैदल आउने गरेका थिए । तराईको क्षेत्रमा भने बयलगाढाले प्रतिमन १ देखी डेढ रुपैया सम्म सामानहरु ढुवानी गर्ने गरेको ब्यवसायी जयगोपाल शाह बताउँछन् । झापाको गौरीगञ्ज बाट समेत यस बजार मट्टितेल आयात हुने गरेको उनी बताउँछन् ।

पुर्वका धरान, ईटहरी , बिर्तामोड , दमक शहरको बिस्तार संगै यो बजार ओझेलमा परेको छ । मधुमल्लाको बिकाश नहनुको मुख्य कारण सडकसञ्जालको बिस्तार नै रहेको मिक्लाजुङ गाउपालिकाका अध्यक्ष देबी आचार्यले बताए । अन्य ठाउ बाट पहाड र तराई जोड्ने बाटो बनेपछि मधुमल्लाको अस्तित्व हराउदै गएको उनको भनाई छ ।

केन्द्रिय तहमा प्रभाव पार्ने राजनेता नभएकै कारण मधुमल्ला बजार पछि परेको स्थानीयको गुनासो छ । हाल आएर मधुमल्ला बाट पाँचथरको रबि जोड्ने सबैभन्दा छोटो मार्ग समेत निर्माण भएकोले अब मधुमल्ला बजार पहिलाकै अवस्थामा फर्कन सक्ने स्थानीयबासी सन्तोष गौतमले आशा ब्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर