एमाले इतिहासमा दोहोरिएर नेतृत्व सम्हाल्ने नेता को-को ? ओलीले रेकर्ड बनाउलान् ? — OSNepal

एमाले इतिहासमा दोहोरिएर नेतृत्व सम्हाल्ने नेता को-को ? ओलीले रेकर्ड बनाउलान् ?

LC (KTM) November 18, 2021 0

काठमाडौं, २ मंसिर- नेपालमा सबैभन्दा बढी महाधिवेशनबाट नेतृत्व चयन गर्ने कम्युनिष्ट पार्टी भनेर रेकर्ड बनाएको नेकपा (एमाले) ले हालसम्म नौ वटा महाधिवेशनबाट नेतृत्व चयन गरेको छ ।

एमाले १०-१२ मंसिरमा १०औँ महाधिवेशनको तयारीमा जुटेको छ । चितवनमा हुने महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने योजना बनाएको एमालेमा हालसम्म दुई जना मात्रै दोहोर्‍याएर नेतृत्वमा पुगेका छन् ।

चौथो र पाँचौ महाधिवेशनबाट मदन भण्डारी तथा छैठौँ र साताैँ महाधिवेशनबाट माधवकुमार नेपाल दुई/दुई पटक नेतृत्वमा पुगे पनि अन्य भने हालसम्म दोहोरिएका छैनन् ।

एमालेले हालै सार्वजनिक गरेको महाधिवेशन केन्द्रित आधिकारिक बुलेटिन ‘नवयुग’मा उल्लेख भएअनुसार नेपाल कम्युनिष्ट पार्टीको नाममा पहिलो पटक १० वैशाख २००६ मा संस्थापकको हैसियतमा पुष्पलालले नेतृत्व गरेका थिए ।

त्यसको चार वर्षपछि १०-२० माघ, २०१० मा ललितपुर र काठमाडौंमा महाधिवेशन भएको थियो । १० दिनसम्म चलेको सो महाधिवेशनबाट महामन्त्रीको रूपमा मनमोहन अधिकारी नेतृत्वमा पुगेका थिए ।

दोस्रो महाधिवेशन १५-२५ जेठ, २०१४ मा आयोजना गरिएको थियो, जुन महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने । यो महाधिवेशन पनि १० दिन चलेको थियो ।

तेस्रो महाधिवेशन भने ११ दिनसम्म सञ्चालन भएको थियो । स्थान उल्लेख नगरे पनि ४-१५ वैशाख, २०१९ मा भएको सो महाधिवेशनले तुल्सीलाल आमात्यलाई नेतृत्व सुम्पेको थियो ।

त्यसपछि झन्डै २७ वर्षसम्म महाधिवेशन नगरेको एमालेले पञ्चायतकालको अन्तिम अवस्थातिर विष्णुपुरकट्टी, सिरहामा चौथो महाधिवेशन आयोजना गरेको थियो । भूमिगत रूपमा सात दिनसम्म चलेको उक्त महाधिवेशनबाट पहिलो पटक मदन भण्डारी नेतृत्वमा पुगेका थिए ।

पञ्चायती व्यवस्था ढलेपछि एमालेले १४-२० माघ, २०४९ मा दशरथ रंगशालामा खुला महाधिवेशन गरेको थियो, जुन पाँचौँ महाधिवेशन थियो । जहाँबाट भण्डारी दोहोरिएर नेतृत्वमा पुगेका थिए ।

भण्डारीको देहान्तपछि १२-१८ माघ, २०५४ मा बाँकेको नेपालगञ्जमा छैटौँ महाधिवेशन भयो । छैटौँ महाधिवेशनबाट माधवकुमार नेपालले नेतृत्व सम्हालेका थिए, भने उनै नेपाल सातौँ महाधिवेशनबाट पनि महासचिव पदमार्फत नेतृत्व तहमा दोहोरिएका थिए ।

एकल नेतृत्वबाट सञ्चालन हुँदै आएको एमाले आठौँ महाधिवेशनमा पुग्दा भने बहुपद प्रणालीमा प्रवेश गरेको थियो । ५-१४ फागुन, २०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट झलनाथ खनाल अध्यक्षको रूपमा नेतृत्व तहमा पुगेका थिए । उनले केपी शर्मा ओलीलाई पराजित गर्दै नेतृत्व सम्हालेका थिए ।

१९ असारदेखि १ साउन, २०७१ मा काठमाडौँको भृकुटीमण्डपमा भएकोे नवौँ महाधिवेशनबाट ओली अध्यक्ष चुनिएका थिए । उनले दुई पटक पार्टीको नेतृत्व सम्हालेका प्रतिस्पर्धी नेपाललाई पराजित गरे ।

एमालेको १०औँ महाधिवेशन झण्डै ८ वर्ष पछि चितवनको भरतपुरमा आयोजना हुँदैछ । सम्भवतः १०औँ महाधिवेशनबाट ओली नै एमालेको नेतृत्व सम्हाल्नेछन् । नवौँ महाधिवेशनबाट अध्यक्ष बनेका ओली दुई पटक नेतृत्वमा पुग्ने तेस्रो नेता बन्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर