एमाले केन्द्रीय सदस्यमा चितवनबाट ९ जना आकांक्षी — OSNepal

एमाले केन्द्रीय सदस्यमा चितवनबाट ९ जना आकांक्षी

LC (KTM) November 21, 2021 0

चितवन, ५ मंसिर-नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ । महाधिवेशनबाट १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी र अनुशासन तथा लेखा आयोगका ३० जना गरी कुल २५५ जना निर्वाचित हुनेछन् । मतदानमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् । केन्द्रीय कमिटी सदस्यमा चितवनबाट भने अहिलेसम्म ९ जनाले आकांक्षा देखाएका छन् । अरू अझै खुलेका छैनन् । दुई पटक सांसद भइसकेका कृष्णभक्त पोखरेलदेखि एमाले चितवन जिल्ला इन्चार्ज काशीनाथ अधिकारीसम्मले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका छन् ।

चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले आइतबार नेकपा एमालेको केन्द्रीय सदस्यमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । दुई चोटि सांसद बनिसकेका पोखरेलले एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा चुनाव लड्ने पक्का भएको बताए ।

पोखरेल १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आवास तथा खानपानको व्यवस्थापनमा खटिएका छन् । ‘यो पटक केन्द्रीय सदस्यमा लड्ने हो नि । दुई चोटि सांसद, कानुन समितिको सभापति भइसकेको मान्छे । यो लेभलको मान्छे, अब केन्द्रीय सदस्यमा लड्ने हो’, उनले भने । निर्वाचन क्षेत्र नम्बर २ बाट उनी २०७० सालमा संविधान सभाको सदस्य र २०७४ मा प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका सांसद हुन् ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावल, पूर्व अध्यक्ष एवं एमाले प्रदेश कमिटी सदस्य जेएन थपलिया, दावा लामा र विजय सुवेदी पनि केन्द्रीय सदस्यमा उठ्ने भएका छन् । त्यसैगरी, हालका एमाले केन्द्रीय सदस्य देवी ज्ञवाली, कपिल पोखरेल र सीता पौडेल पुनः केन्द्रीय सदस्यमा उठ्ने भएका हुन् । एमाले चितवन इन्चार्ज काशीनाथ अधिकारीले पनि केन्द्रीय सदस्यमा चुनाव लड्ने तयारी गरेका छन् ।

केन्द्रीय सदस्यका आकांक्षी महाधिवेशनको लागि जिल्लामा जनपरिचालनदेखि आर्थिक प्रबन्धका काममा जिम्मेवारी लिएका काम गरिरहेका छन् । कृष्णभक्त पोखरेल हाल प्रतिनिधि सभाको कानुन, न्याय मानव अधिकार समितिका सभापतिसमेत रहेका छन् ।

२०७३ कात्तिकमा भएको नेकपा एमाले चितवनको चुनावबाट पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए । तत्कालीन समयमा एमालेको माधवकुमार नेपाल पक्षका पोखरेलले जिल्ला अध्यक्षमा केपी ओली पक्षका जेएन थपलियालाई पराजित गरेका हुन् ।त्यसपछि नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा बनेपछि उनी जिल्ला सचिव बनेका छन् । माओवादी र एमालेबीच फाटो आएर पार्टी विभाजनपछि पोखरेल केही समय माधव नेपाल पक्षमै लागे ।

माधव नेपाल पक्षका नेताहरू नेकपा एमालेमै रहने गरी गरिएको १० बुँदे सहमतिमा पार्टी कमिटी २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भनिएको थियो । तर सो सहमति कार्यान्वयनको सन्दर्भमा चितवनमा विवाद देखियो ।२ जेठ २०७५ को अवस्थामा फर्किदा चितवनको एमाले अध्यक्ष कृष्णभक्त पोखरेल हुनुपर्ने थियो । तर ५ पुस २०७७ मा अध्यक्ष केपी ओलीद्वारा चितवन जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी पार्वती रावलले अध्यक्ष पद छाड्न मानिनन् । अन्ततः पोखरेल आफैं सहमतिका लागि भन्दै पछि हटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर